कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्न माग

‘मृत्यु भइसकेका व्यक्तिको स्वाब परीक्षण नगर्ने भनेर कसले भन्यो ?’

काठमाडौं। प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेस सहित विपक्षी दलका सदस्यले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाउँदै सरकारसँग जवाफ माग गरेका छन् । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि कांग्रेसका गगनकुमार थापाले कोरोना नियन्त्रणका लागि बनाइएको क्वारेन्टाइन व्यवस्थित नभएको र त्यहाँ मानिसको मृत्यु हुन थालेकाले यसको जिम्मा कसले लिने भनी प्रश्न गरे । पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री थापाले अहिलेसम्म कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्नसमेत माग गरे । 
कर्मचारीलाई सरुवा गरेर दोषबाट उम्कन नपाइने बताउँदै थापाले प्रश्न गरे, “मृत्यु भइसकेका व्यक्तिको स्वाब परीक्षण नगर्ने भनेर कसले भन्यो ?”  उनले विदशेमा रहेका नेपालीलाई तत्काल स्वदेश ल्याउन पनि सरकारको ध्यानाकर्षण गरे । विदेशमा बसेका नेपालीलाई ल्याइने निर्णय भएको तर कुन विमानबाट ल्याउने भन्ने विवाद भएको जिकिर गर्दै उनले त्यस विषयमा सरकारले सदनलाई जवाफ नदिए आगामी बैठक सञ्चालनमा सहज नहुने चेतावनी दिए । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग यसबारे सदनमा जवाफ दिनुपर्ने मागसमेत उनले गरे । संयोजकको जवाफमा चित्त नबुझे प्रधानमन्त्रीसँग समेत जवाफ मागिने उनले बताए। 
२५ हजार कीट र ५ वटा पीसीआर मेसिन खरीद गर्दैमा १० अर्ब सकिएको सरकारी हिसावमा गम्भिर प्रश्न उठाउँदै थापाले त्यसको प्रष्ट र चित्तबुझ्दो हिसाव चाहिएको बताए। कांग्रेसले सुतेर बसेको सरकारलाई उठाएरै छाड्ने बताउँदै उनले अब संसदमा आएर प्रश्न सोधेर मात्र कांग्रेस हिड्दैन जवाफ खोज्छ। जवाफ चित्त बुझ्दो नभएसम्म प्रश्न गरिरहन्छ थापाले भने। 

'मृत्यु भइसकेका व्यक्तिको स्वाब परीक्षण नगर्ने भनेर कसले भन्यो ?'कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्न माग: गगन थापा

Posted by Ujyaalo Post on Tuesday, 9 June 2020

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation