असन्तुष्ट नेता राजपा ब्युँत्याउन तयारी थाल्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय समितिको चयनप्रति असन्तुष्ट नेताहरू पुरानै पार्टी ब्युँताउने तयारीमा जुटेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादीबीच एकीकरण भएर जसपा बनेको हो । हालै घोषणा भएको जसपा ५१ सदस्यीय केन्द्रीय समिति चयन प्रक्रियामा राजकिशोर यादव र अनिल झाले असन्तुष्टि व्यक्त गर्दै राजपा ब्युँताउने तयारीमा जुटेका छन् ।मंगलबार असन्तुष्ट नेताहरूको बैठक काठमाडौंमा बसेको भयो । बैठकपश्चात् यादव र झा निर्वाचन आयोग पुगेका थिए । कानुनी उपचार खोज्ने निष्कर्षमा पुगेका उनीहरूले पुरानै पार्टी राजपा ब्युत्याउने विषयमा छलफल सुरु गरेको एक असन्तुष्ट नेताले बताए । ५१ सदस्यीय केन्द्रीय समिति चयन गर्दा आफूहरूलाई पूरै बेवास्ता गरिएको गुनासो यादव र झाको रहेको छ । तत्कालीन राजपाबाट नामावली दिँदा आफूहरूसँग सल्लाह नै नभएको उनीहरूले जनाएका छन् ।तत्कालीन राजपा नेता तथा जसपा अध्यक्ष महन्थ ठाकुर निकट ८, वरिष्ठ नेता राजेन्द्र महतो निकटका ७ महेन्द्रराय यादव निकटका ३, शरतसिंह भण्डारी निकटका २ जना नेता केन्द्रीय समितिमा परेका छन् । तर, यादव र झा निकटका कोही पनि परेका छैनन् । राजपामा रहेको ६ सदस्यीय अध्यक्ष मण्डलका यादव र झा पनि सदस्य थिए ।केन्द्रीय सदस्यहरूको चयन गर्दा महिला, दलित, जनजाति, थारू, मुस्लिमलगायतको कलस्टर नमिलेको गुनासो उनीहरूको रहेको छ । यस्तै, अन्य नेताले समेत असन्तुष्टि व्यक्त गर्दै त्यसलाई सच्याउन माग गरिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation