प्रतिनिधिसभाद्वारा विनियोजन विधेयक-०७७ पारित

काठमाडौं ।
प्रतिनिधिसभाले विनियोजन विधेयक ०७७ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेकोमा सदनले बहुमतले पारित गरेको हो ।यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले बैठकमा उक्त विनियोजन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा सभामुखले उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् । संवैधानिक व्यवस्था अनुसार अर्थमन्त्री डा खतिवडाले जेठ १५ गते सङ्घीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक विवरण (बजेट) प्रस्तुत गरेका थिए ।सरकारले आगामी आवका लागि रु १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेको थिए । उक्त बजेटमा चालुतर्फ रु नौ खर्ब ४८ अर्ब ९४ करोड र पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड विनियोजन गरिएको छ । बजेटमा वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ७२ अर्ब ७९ करोड व्यवस्थापन गरिएको छ । बजेटका स्रोतमध्ये राजश्वबाट रु आठ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु ६० अर्ब ५२ करोड सङ्कलन हुने अनुमान गरिएको छ ।विनियोजन विधेयकमाथि प्रतिपक्ष दलका २६ सदस्यले खर्च कटौती सम्बन्धी राखेको प्रस्तावलाई सभाको बहुमतले अस्वीकृत गर्यो । विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि जेठ २३, २४ र २५ गते सदनमा छलफल भएको थियो भने त्यसमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जेठ २७ र २८ गते जवाफ दिएका थिए ।प्रतिनिधिसभामा विनियोजन विधेयक, ०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका शीर्षकमाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आज जवाफ दिएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation