महामारीका वेला स्वास्थ्यका वरिष्ठ अधिकारी फाजिलमा, डेढ वर्षमा फेरिए ६ सचिव, स्वास्थ्यको कमान्ड सेनालाई

काठमान्डाै- महामारी रोकथाम तथा उपचारको नेतृत्व गर्नुपर्ने स्वास्थ्य मन्त्रालय राजनीतिक खेलकुदले आफैँ थला परेको छ । डेढ वर्षमा ६ सचिव फेरिएका छन् भने स्वास्थ्य क्षेत्रका विज्ञ वरिष्ठ अधिकारीहरूलाई यही विपत्को वेला सरकारले फाजिलमा पठाएको छ । स्वास्थ्य मन्त्रालयलाई पंगु बनाएर स्वास्थ्य व्यवस्थापनमा सेनालाई अघि सारिएको छ । स्वास्थ्यका वरिष्ठ अधिकारी तथा स्वास्थ्यकर्मीलाई मानमर्दन गर्दै आएका सचिव यादव कोइराला १५ जेठमा सरुवा भएका छन् । कोभिड संक्रमण सुरु भएपछि १८ फागुनमा सरकारले कोइरालालाई स्वास्थ्य मन्त्रालयमा ल्याएको थियो । विपत्को यो वेला तीन महिना ‘महँगो परीक्षण’ गरेर उनलाई हटाइएको छ । उनको ठाउँमा प्रधानमन्त्री कार्यालयबाट लक्ष्मण अर्याल आएका छन् । डेढ वर्षमा स्वास्थ्य मन्त्रालय आउने अर्याल छैटौँ सचिव हुन् । 
१६ मंसिर ०७५ मा स्वास्थ्य समूहकी तत्कालीन सचिव डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी केदारबहादुर अधिकारीलाई स्वास्थ्य मन्त्रालयको सचिव बनाइएको थियो । डा. चौधरीले सरकारको निर्णयलाई चुनौती दिइन् । उनले निर्णय कार्यान्वयन नगर्न सर्वोच्चबाट अन्तरिम आदेश पाइन् । उनी फिर्ता आएपछि स्वास्थ्यमा दुईजना सचिव भए । दुईजना सचिव हुँदा मन्त्रालय विवादको अखडा भयो, त्यहीबीचमा अधिकारी ५१ दिनमा स्वास्थ्यबाट फिर्ता भए । अधिकारीको ठाउँमा चन्द्रकुमार घिमिरेलाई ल्याइयो, उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव थिए । तर, उनलाई पनि ८१ दिनमा स्वास्थ्यबाट बिदा गरेर महिला तथा बालबालिका मन्त्रालयमा पठाइयो । पछि डा. पुष्पाले राजीनामा दिएर विश्व स्वास्थ्य संगठनमा गइन्, तर यता स्वास्थ्यका अधिकारीलाई सचिव बनाउनुको सट्टा सरकारले स्वास्थ्य मन्त्रालयलाई अस्थिरताको केन्द्र बनायो । 

२ वैशाख ०७६ मा मन्त्रिपरिषद्ले घिमिरेको ठाउँमा कर्णाली प्रदेशका प्रमुख सचिव रामप्रसाद थपलियालाई ल्याउने निर्णय गर्‍यो । थपलिया पनि चार महिना मात्र स्वास्थ्यमा रहे । २ भदौ ०७६ मा उनलाई स्वास्थ्यबाट युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरियो । थपलियाको ठाउँमा शिक्षा मन्त्रालयबाट खगराज बराललाई ल्याइएको थियो । उनलाई पनि १८ फागुनमा उपराष्ट्रपति कार्यालय पठाएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइयो ।स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य प्राविधिकलाई सचिव बनाउने परम्पराविपरीत सरकारले प्रशासनतर्फका कर्मचारीलाई ल्याउने क्रम रोकेको छैन । स्वास्थ्यसचिव डा. चौधरीले राजीनामा दिएको एक वर्ष पुगेको छ । प्रशासनतर्फ दरबन्दी खाली भएको १५ दिनमा पदपूर्ति गरिन्छ । तर, स्वास्थ्यमा योग्यता पुगेको अधिकारीहरू भएपछि नियमसंगत सचिव बनाउनुको सट्टा सरकारले बढुवा नै रोकेको छ । ‘तत्कालीन स्वास्थ्यसचिवले राजीनामा दिएको एक वर्ष पुरा भएको छ, तर पदपुर्ति गर्ने प्रक्रिया अहिलेसम्म सुरु भएको छैन,’ स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले नयाँ पत्रिकासँग भने । 

साभार नयाँपत्रिका

यिनी पनि पढाै ।

https://ujyaalopost.com/bishess/4443/
https://ujyaalopost.com/bishess/4422/

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation