कांग्रेसले सरकार विरुद्ध सडक आन्दोलन गर्ने

काठमाडौं- कोरोना रोकथाम र सीमाको बिषयमा सरकारको पक्षमा उभिएको नेपाली कांग्रेस पछिल्लो समय सरकारले गरेका अनेक काण्डले गर्दा आन्दोलन गर्ने मुडमा पुगेको छ । सबै कार्यमा साथ् र सहयोग गरेपनि सरकारले अनेक काण्ड मच्चाएको, संकटको बेला पनि भ्रष्टाचारमा लिप्त भएको, कोरोना रोकथाम गर्न नसकेको, हाल गर्नुपर्ने मुख्य मुद्दालाई मोड्न खोजेको कांग्रेसको आरोप छ ।सरकारको प्रमुख प्रतिपक्षी भएर पनि संकटमा एकसाथ हुने प्रतिबद्धता कांग्रेसले लकडाउन र सीमाको बिषयमा पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएको कांग्रेसले धैर्यताको सीमा समाप्त भएको निस्कर्ष निकालेको छ ।कोरोना संक्रमणसँग जुध्नका लागि सरकारी प्रभावकारितामा प्रश्न उठाउँदै कांग्रेसले आफ्नो पूर्व मान्यता त्यागेको छ। लकडाउनको समयलाई पूर्णतः परिपालन गरेको कांग्रेसले त्यसप्रति प्रश्न उठाएन। लकडाउनकै अवधिमा मेडिकल सामग्री खरिदमा भएको अनियमिततालाई कांग्रेसको विरोधको मुद्दा बनाएको थियो।विरोधको मुद्दा बनेपनि सडकमा उत्रने परिस्थिति नभएको भन्दै कांग्रेस संयमित नै थियो। सरकारको ‘असफलता’को ग्राफ बढ्दै गएसँगै कांग्रेसको असन्तुष्टिको पारो बढ्दै गएको छ।कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारी कार्यमाथि प्रश्न उठाउन गत सोमबार कांग्रेसको केन्द्रीय समितिको बैठक बस्यो। उक्त बैठकले एकमतमा सरकारविरुद्ध उत्रने निर्णय गरेको छ। ‘सरकारको गैर जिम्मेवारपन, अर्कमण्यता,असक्षमता र भ्रष्टाचार विरुद्ध सशक्त प्रस्तुत हुने’ बैठकले निर्णय गरेको थियो।जनतालाई सरकारको बढी आवश्यकता अनुभूति हुनुपर्ने समयमा अभिभावक हुन नसक्नुलाई कांग्रेसले दुर्भाग्य भनेको छ। बैठकले गरेको निर्णयको जगमा कांग्रेसले आफ्नो सक्रियता अर्को दिनबाटै देखाउन सुरु गरेको थियो। मंगलबार बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गरेको कांग्रेसले सोही दिन संसद्‍बाट आक्रामक हुने सन्देश प्रवाह गर्‍यो।संघीय संसद, प्रदेश सभा, सबै जिल्लामा सक्रिय हुने जनाएको कांग्रेसले असार २ बाट सडक ओर्लने निर्णय बिहीबार गरेको थियो । असार २ मा ७७ जिल्ला, सात प्रदेश र विदेशस्थित नियोगमा सरकारका विरुद्ध ज्ञापनपत्र बुझाउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएक छन् ।कोभिड १९ को महामारी नियन्त्रण, अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यूनीकरण गर्न सरकारलाई कांग्रेसले पटकपटक ध्यानाकर्षण समेत गराएको छ। मंगलबार प्रधानमन्त्रीलाई भेटेर नै सरकारले तत्काल चाल्नुपर्ने कदमप्रति ध्यानाकर्षण गराएको थियो।कांग्रेसले पटकपटक सतर्क बनाउँदा समेत सरकारले सुनेको नसुन्यै गरेको नेता गगन थापा बताउँछन्। ‘फागुन २३ गते सदनमा सार्वजनिक महत्वको प्रस्ताव गर्‍यौं। उच्च स्तरीय समितिलाई प्रस्ताव बुझायौं,’ उनले भने, ‘सरकारले न कांग्रेसको सुन्यो, न अदालतको सुन्यो, न प्रेसको सुन्यो, न नागरिकको सुझाव सुन्यो। नियन्त्रणमा रहँदारहँदै पनि आज हाम्रो यो अवस्था बनेको छ।’

साभार हिमालपाेष्ट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation