सशस्त्रको गोलीबाट एक भारतीयको मृत्यु, तीन सशस्त्र प्रहरी र दुईजना भारतीय घाइते

अवैध रूपमा नेपाल पस्न खोजेका भारतीयद्वारा सर्लाहीमा सशस्त्र प्रहरीमाथि आक्रमण

सर्लाही- अवैध रूपमा नेपाल पस्न खोजेका भारतीयलाई रोक्न खोज्दा सर्लाहीको नारायणपुर नाकामा शुक्रबार भएको झडपमा सशस्त्र प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु भएको छ । झडपमा तीन सशस्त्र प्रहरी र दुई भारतीय घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।
 पर्सा गाउँपालिका–३ स्थित नारायणपुर पोस्टमा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि बिहान साढे ९ बजेतिर करिब सयको संख्यामा आएका भारतीयले आक्रमण गरेका थिए । उनीहरूमध्ये अधिकांश सीमावर्ती भारतीय गाउँ टोला–ललबन्दीका व्यापारी थिए । लकडाउनपछि नेपाल–भारत ओहोरदोहोर रोकिएका कारण व्यापारमा समस्या भएको भन्दै उनीहरू जबर्जस्ती नेपाल पस्न खोजेका थिए । भारतबाट दैनिक सामान ल्याएर दिनभरि नेपालमा बेच्ने उनीहरूको व्यापार थियो ।शुक्रबार सुरुमा २०/२५ जना नेपाल पस्न खोजेका थिए । तर, सशस्त्रले रोकेपछि उनीहरू आक्रमणमा उत्रिए । सशस्त्रको एक थान हतियार पनि खोसे । लगत्तै थप ७०–८० जनाको समूह पनि आएर ढुंगा, इँटा र लाठाले आक्रमण गर्दै लखेट्न थालेपछि सशस्त्रको टोलीले भिड तितरबितर पार्न हवाईफायर गरेको थियो । तर, हवाईफायरबाट थप उत्तेजित भिडले ज्यान जोगाउँदै तीन सय मिटर वर आइसकेको सशस्त्रको टोलीलाई आक्रमण गर्न नछाडेपछि गोली चलाउनुपरेको सर्लाहीका सिडिओ मोहनबहादुर जिसीले बताए । 
गोली लागेर भारत सीतामढी जिल्लाको जानकीनगर टोला–ललबन्दी बस्ने २७ वर्षीय बिकेसकुमार रायको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् । त्यस्तै, ललबन्दीकै १९ वर्षीय उमेश राम र रोहडवा ग्राम पञ्चायत बस्ने ३२ वर्षीय उदय ठाकुर घाइते भएका छन् । उमेशको हातमा र उदयको दायाँ खुट्टामा गोली लागेको छ । दुवैजनाको सीतामढीमा उपचार भइरहेको भारतीय अधिकारीले जनाएका छन् । भारतीयको आक्रमणबाट सशस्त्रका हवल्दार सञ्जय राय तथा जवानद्वय रवीन्द्र बैठा र भूपेन्द्र पौडेल घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको छ । भारतीयले बैठासँग भएको हतियार खोसेको थिए । पौडेलको बर्दी च्यातेर कुटपिट गरिएको छ । ‘हामीहरूले त बाँच्ने आस मारिसकेका थियौँ । गोली नचलाएको भए उनीहरूले हामीलाई कुटीकुटी मार्थे । उनीहरूको भिड देख्दा गोली चलाएर पनि भाग्न नसक्ने अवस्था थियो,’ घाइते हवल्दार रायले भने ।सशस्त्रको संग्रामपुरस्थित बोर्डर आउट पोस्ट (बिओपी)बाट नारायणपुर पोस्टमा सधैँ असइको नेतृत्वमा सातजनाको टोली खटिने गरेको थियो । तर, शुक्रबार हवल्दार सञ्जय रायको नेतृत्वमा टोली खटिएको थियो । झन्डै सयको संख्यामा आएका भारतीयको समूहले आक्रमण गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको सशस्त्रको १० नम्बर गण कविलासीका एसपी गंगाराम श्रेष्ठले बताए । उनका अनुसार सशस्त्रले १० राउन्ड हवाईफायर र पाँच राउन्ड गोली चलाएको छ । हतियार खोस्ने भारतीय नागरिक नवलकिशोर रायलाई पक्राउ गरी हतियार फिर्ता लिएको एसपी श्रेष्ठले बताए । उनी अहिले प्रहरी हिरासतमा छन् ।
यसअघि १८ जेठमा पनि जिल्लाको विष्णु गाउँपालिका–२ पकडीस्थित फेनहरा नाकामा खटिएका सशस्त्र प्रहरीमाथि ठूलो संख्यामा आएका भारतीय व्यापारीहरूले आक्रमणको प्रयास गरेका थिए । त्यतिखेर पनि उनीहरूले सशस्त्रको हतियार खोस्ने प्रयास गरेका थिए । तर, सशस्त्रले हवाईफायर गरेर भिड तितरबितर बनाएको थियो । 

गोली नचलाएको भए हामीलाई कुटीकुटी मार्थे : घाइते सशस्त्र प्रहरी हवल्दार सञ्जय राय
सधैँजस्तै संग्रामपुर बिओपीबाट नारायणपुर नाकाको सुरक्षाका लागि मलगायत सातजनाको टोली तैनाथ भएको थियो । लकडाउनपछि हामी आफैँले निर्माण गरेको बाँस र त्रिपालको अस्थायी सुरक्षा पोस्टमा म र जवान रवीन्द्र बैठा खटियौँ । जवान भूपेन्द्र पौडेल मोटरसाइकलमा पेट्रोलिङ गर्न खटिए । बाँकी चारजनामध्ये दुईजना पोस्टको दायाँपट्टि र दुईजना बायाँपट्टि करिब तीन सय मिटरको दूरीमा आँखाले देखिने गरी खटिएका थियौँ । 
हामी खटिएको नाकाको ठीक दक्षिणतिर भारतको सीतामढी जिल्लाको जानकीनगर टोला–ललबन्दी गाउँ छ । भारतीय सीमा क्षेत्रमा एसएसबीका जवान तैनाथ थिए । लकडाउनयता यो सीमा क्षेत्रबाट कोही पनि नेपाल प्रवेश गर्न पाएका थिएनन्, दुवैतर्फबाट ओहोरदोहोर बन्द गरिएको थियो । नेपाली मोबाइलको नेटवर्कले पनि त्यो क्षेत्रमा राम्ररी काम गर्दैन ।  शुक्रबार बिहान साढे ९ बजेतिर एक्कासि २०–२५ जना भारतीयको टोली हाम्रो पोस्ट भएतर्फ आउँदै गरेको देखियो, हामी सतर्क भयौँ । उनीहरू सरासर हाम्रो पोस्टनजिकै आए, उनीहरू आउँदा एसएसबीले नदेखेझैँ ग¥यो । हामीले उनीहरूलाई रोकेर सोधपुछ गर्दा ‘नेपाल जान लागेको’ भने । हामीले ‘लकडाउन छ, अहिले यसरी ओहोरदोहोर गर्न पाइँदैन’ भन्यौँ । तर, उनीहरू हामी दुईजनालाई उल्टै हकार्दै ‘हामीले वर्षौँदेखि व्यापार गरिरहेको ठाउँ हो यो, किन जान नपाउने, हामी जान्छौँ’ भन्न थाले । रोक्न खोजेपछि हामी दुईजनामाथि जाइलागे, कुटपिटमा उत्रिए । यो सबै पेट्रोलिङमा रहेका जवान भूपेन्द्र पौडेलले देखेपछि उनी पनि आए । तर, उनलाई पनि कुटपिट गरे, बर्दी च्यातियो । त्यतिन्जेलसम्म मसँगै पोस्टमा खटिएका जवान रवीन्द्र बैठाको त हतियारसमेत खोसिसकेका रहेछन् । हेर्दादेर्दै भारततिरबाट थप ७०–८० जनाको अर्को समूह पनि हामीतर्फ आउँदै गरेको देख्यौँ । त्यसपछि हामी ज्यान जोगाउँदै नेपालतर्फ भाग्न थाल्यौँ । हामीहरू सातैजना सँगै भइसकेका थियौँ । तर, भारतीयहरू घेरा हाल्दै हामीलाई लखेटिरहेका थिए । 
करिब तीन सय मिटर वर आइसकेपछि भिड तितरबितर गर्न हामीले १० राउन्ड हवाईफायर गर्र्यौ। तर, उनीहरू तितरबितर हुनुको सट्टा थप उत्तेजित भएर ताली बजाउँदै हामीमाथि ढुंगा, इँटा र लाठाले आक्रमण गर्न थाले । लाग्यो, अब यिनीहरूले हामीलाई बाँकी राख्दैनन् । खेत र नजिकको जंगलमा उनीहरू मात्र देखिन्थे । त्यसपछि ज्यान जोगाउन पाँच राउन्ड गोली चलायौँ । तीनजनालाई गोली लाग्यो । त्यसपछि उनीहरू घाइतेलाई घिसार्दै भारततर्फ भागे ।
त्यही मौकामा हाम्रो हतियार बोकेर भाग्दै गरेका नवलकिशोर रायलाई नियन्त्रणमा लिएर हतियार खोस्न सफल भयौँ । केही मिनेटमा भएको यो घटना अझै सपनाजस्तै लागिरहेको छ । हामीहरूले त बाँच्ने आस मारिसकेका थियौँ । गोली नचलाएको भए उनीहरूले हामीलाई कुटीकुटी मार्थे । उनीहरूको भिड देख्दा गोली चलाएर पनि भाग्न नसक्ने अवस्था थियो । तर, गोली तथा हवाईफायरको आवाज सुनेर नेपालबाट समेत स्थानीय जम्मा भएपछि भने उनीहरू भारततर्फ भागे । धन्न बाँचियो । 

सीमा क्षेत्रका तस्करहरूको टाउको दुखाइ 
सीमा क्षेत्रका तस्करहरूका लागि सशस्त्र प्रहरी टाउको दुखाइको विषय बनेको छ । वर्षौँदेखि सामान तस्करी गर्दै आएका भारतीय तस्करलाई लकडाउनका कारण सीमा क्षेत्रकोे आवागमनमा लगाएको रोक चित्त बुझेको छैन । अधिकांश सीमा क्षेत्रका भारतीय बजारको व्यापार नेपालीका कारण हुने गरेको छ । लकडाउनले त्यसमा प्रत्यक्ष प्रभाव पारेको छ । अर्कोतर्फ भारतबाट नेपालतर्फ सामान तस्करी गर्नेसमेत समस्यामा परेका छन् । तस्करी गर्न नपाएकै कारण उनीहरूले बारम्बार सशस्त्र प्रहरीलाई तारो बनाएको सशस्त्र प्रहरीका एसपी गंगाराम श्रेष्ठले बताए लकडाउनपछि सशस्त्रले सीमामा कडाइ गरेपछि भारतीयहरू आक्रोशित बन्दै गएको पर्सा गाउँपालिका–३ नारायणपुरका दिलीपकुमार साहले बताए । ‘उनीहरूको दैनिक सामान ओसार्ने, पैसा कमाउने धन्दा सबै बन्द छ । भारतीयहरू जसरी भए पनि सशस्त्रलाई सीमाबाट लखेट्न चाहन्छन्,’ उनले भने । भारतीय नागरिकले वेलावेलामा नेपालतर्फ आएर दुःख दिने गरेको स्थानीय बताउँछन् । विनाकारण नेपालीलाई कुटपिट गर्ने गरेको स्थानीय सुनीता रामले बताइन् । ‘भारततिरका मान्छे साह्रै बदमास छन् । कैयन्पटक हाम्रो गाउँमै आएर कुटपिट गर्ने, धम्क्याउने गरेका छन्,’ उनले भनिन्, ‘बन्दुक बोकेर आउँछन्, हामी केही गर्न सक्दैनौँ ।’

नयाँपत्रिकाबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation