उड्ने भयो कतारबाट नेपालतर्फ जहाज, दूतावासले जारी गर्‍यो उडान तालिका (नामावलीसहित )

कोभिड १९ को प्रकोपबाट उत्पन्न परिस्थिति, आवश्यकता र प्राथमिकताको आधारमा कतारबाट नेपाल फर्कन जरुरी भएका नेपालीहरूको लागि केही समय पहिले नेपाली राजदूतावास कतारले स्वदेश फिर्ता जानका लागि फाराम भर्नु पर्ने र नपर्ने गरी दुई हिस्सामा वर्गीकरण गरेको थियो । उक्त वर्गीकरणबाट नेपाल फर्कनै पर्नेले १२ जुनसम्म फाराम मार्फत ५ हजार ११२ जना तथा विभिन्न कम्पनिले ९६५ जनालाई नेपाल पठाउन पाउँ भनी फाराम भरेको जानकारीसहित ६ हजार ०७४ जनाको नामावली सार्वजनिक गरेको छ ।

यही महिनाको १६ र २० जुनमा नेपाल एयरलाइन्सका २ उडान १७ र २२ तारीखमा हिमालय एयरलाइन्सका २ वटा उडानहरू हुने निश्चित भएको छ । जारी सूचि मध्ये प्राथमिकतामा पर्ने नागरिकहरूलाई राजदूतावासले सूचनामार्फत वा प्रत्यक्ष रूपमा सम्पर्क गर्ने भएको छ । हवाई टिकटको मूल्य अमेरिकी डलर ४९० तोकिएको छ । प्राथमिकतामा परेका यात्रीको नामावली सहित उडान अनुमतिको प्रक्रिया पूरा भएपछि यात्रीसँगको समन्वयमा यात्रीको नामावली प्रकाशित गरी हवाइटिकट खरिद गर्न सूचित गराइने भएको छ । हवाइटिकट खरिद गर्ने स्थान तथा सम्पर्क विवरण सोही समयमा जानकारी गराइने नियोगले जनाएको छ ।उडान गर्नु अघि कोभिड १९ सङ्क्रमण नभएको स्वास्थ्य परीक्षण गर्ने सम्बन्धमा थप जानकारी पछि उपलब्ध गराउने भएको छ । कतारको प्रचलित कानुन अनुसार हवाई उडानको लागि अनुमति नपाएका व्यक्तिहरूको हकमा राजदूतावासले सम्बन्धित निकायमा आवश्यक समन्वय र सहजीकरणको लागि पत्राचार गर्ने भएको छ । उक्त निकायहरूबाट आवश्यक प्रक्रिया पूरा भएपछि उनीहरूलाई त्यसपछिका उडानहरूमा समावेश गरिनेछ । प्राविधिक कारण बाहेक उडानको मिति हेरफेर नहुने भएको छ ।राजदूतावासले आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल जानु पर्ने, सुत्केरी तथा गर्भवती महिला, कोभिड १९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति, अध्ययन समाप्त भएका विद्यार्थी इन्टर्न समेत, पारिवारिक पुनर्मिलनका लागि आएका, पर्यटक तथा व्यापारिक भिसामा आएका, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका कतार आई डी, भिसा समाप्त भएका वा आई.डी. रद्द भएका, बेतलबी बिदामा रहेकाहरूलाई राजदूतावासले प्राथमिकतामा राखेको छ ।कतारमा आममाफी पाएका तथा डिपोर्टेशन केन्द्रमा रहेका झन्डै २५० भन्दा बढी तथा उडान प्रतिबन्ध भएर रोकिएका शवहरू कतार सरकारले आफ्नै विमानमार्फत नेपाल फर्काउने भएको छ । दूतावासले दोस्रो चरणको हवाई उडानहरू घोषणा भएपछि उल्लेखित प्रक्रियाबाट प्राथमिकतामा पर्ने नागरिकहरूको थप नामावली प्रकाशित गर्दै लैजाने जनाएको छ ।

नेपाल आउनेहरुको नामावली यहाँ क्लिक गरेर हेर्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation