कोरोना कहरकैबीच आज (शनिबार) नेपालले एक ऐतिहासिक निर्णय गर्दैछ । आज (शनिबार) दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाले बैठकले नयाँ नक्सासम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्दैछ ।सम्भावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । छलफलपछि कानुनमन्त्री तुम्बाहाङफेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको छ । विधेयकमा सबै राजनीतिक दलहरुले समर्थन जनाएका छन् ।सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरे लगत्तै सरकारले निशान छाप परिवर्तनका लागि संसद्मा संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएकाले सरकारले प्रतिनिधिसभा विधेयक दर्ता गराएको हो ।यो विधेयक पारित भएसँगै मुलुकको संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश हुनेछ ।यही जेठ २७ गते प्रतिनिधि सभामा भएको सैद्धान्तिक छलफलमा सबै दलहरुले यस विधेयकको पक्षमा मतदान गर्ने प्रतिवद्धतासहित मिचिएको भूमि फिर्ता गर्न भारत सरकारलाई आग्रह गरेका थिए ।समाजवादी पार्टीकी सांसद सरिता गिरीले भने सरकारले ल्याएको नयाँ नक्सा अनुसार संविधानको निशान छाप परिवर्तन गर्न नहुने भन्दै संशोधन प्रस्ताव दर्ता गरेकी छन् ।समाजवादी पार्टीले विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टीको नीति विपरीत गिरीले संशोधन प्रस्ताव दर्ता गरिन् । गिरीले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको केही घण्टामै समाजवादी पार्टीले सांसद गिरीलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो ।नमाने कारबाही गर्ने चेतावनी पनि दियो । तर, गिरीले आफ्नो संशोधन फिर्ता लिएकी छैनन् । यसैगरी, सांसद गिरीले दर्ता गरेको संशोधन सभामुखबाटै अस्वीकृत गर्नेबारे पनि छलफल भएको छ ।