दैलेखका कोरोना संक्रमितमाथि प्रहरीको लाठी

१५ दिन बित्दा पनि पिसिआर रिपोर्ट नआएपछि आन्दोलनमा उत्रिएका संक्रमितमाथि प्रहरीले गर्‍यो लाठीचार्ज, चार घाइतेउपचार नपाएपछि आन्दोलनमा उत्रिएका दैलेखका कोरोना संक्रमितमाथि प्रहरीले उल्टै लाठी बर्साएको छ । चार संक्रमित घाइते भएका छन् । दैलेख सदरमुकामस्थित त्रिभुवन माविमा राखिएका ३४ संक्रमित १५ दिन बित्दा पनि पिसिआर रिपोर्ट नआएपछि शनिबार आन्दोलनमा उत्रिएका थिए । विद्यालयको गेट भाँचेर बाहिर निस्कँदै उनीहरूले नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि यही क्वारेन्टाइनलाई आइसोलेसन बनाएर उनीहरूलाई राखिएको थियो । प्रहरीको लाठीबाट घाइते भएकामध्ये एकजनालाई बढी चोट लागेको छ । प्रहरीले बल प्रयोग गरेर उनीहरूलाई विद्यालयभित्रै आइसोलेसनमा फिर्ता पठाएको छ । ‘आइसोलेसनमा राखिएका संक्रमितहरू सुरक्षित रूपमा बस्नुपर्नेमा सडक निस्केपछि सम्झाइबुझाइ भित्र पठाउन खोजेका थियौँ,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर ओलीले, ‘नाराबाजी गर्दै यताउता जान खोजेपछि प्रहरीले बाध्य भएर लाठीचार्ज गर्नुपरेको हो ।भारतबाट फर्र्किएका उनीहरू १४ दिन सदरमुकामस्थित नारायण क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनबाट घर जानेवेला गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि त्रिभुवन माविमा सारिएको थियो । उनीहरूले यसअघि पनि पटकपटक विरोध गरेका थिए । नाम मात्रैको आइसोलेसन भएको उनीहरूको दुखेसो थियो । संक्रमण देखिएपछि पनि उपचारको व्यवस्था नगरिएको, खानाखाजा र बस्ने व्यवस्था राम्रो नभएको उनीहरूको गुनासो थियो । सबै गाह्रोसाह्रो सहँदै आएका संक्रमितको १५ दिन बितिसक्दा पनि कोरोना परीक्षणको रिपोर्ट नआएपछि आन्दोलनमा उत्रिएका थिए । उनीहरूको स्वाबको नमुना संकलन गरेर प्रादेशिक अस्पताल सुर्खेत पठाइएको थियो । 

साभार नयाँ पत्रिका

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation