आइसोलेसनबाट ६४ संक्रमित भोकभोकै पाँच घन्टा हिँडेर क्वारेन्टाइनमा

दैलेखकै डुंगेश्वर गाउँपालिकास्थित पिपलचौतारा र सीता जनसेवा माविको क्वारेन्टाइनमा रहेका ६४ जना कोरोना संक्रमितलाई शुक्रबार राति डुंगेश्वर गाउँपालिका–१ चुप्रास्थित त्रिवेणी संगम माध्यमिक विद्यालयको आइसोलेसनमा ल्याइएको थियो । उनीहरू राति पाँच घन्टा हिँडेर क्वारेन्टाइनबाट आइसोलेसनमा आएका थिए । तर, उनीहरू शनिबार फेरि भोकभोकै पाँच घन्टा हिँडेर आइसोलेसनबाट क्वारेन्टाइनमै फर्किएका छन् । ‘नाम मात्रैको आइसोलेसन रहेछ । त्यहाँ त झन् बिरामी हुने भएपछि क्वारेन्टाइनमै फर्किएका हौँ,’ एक संक्रमितले भने । उनीहरू शनिबार बिहान ९ बजे त्रिवेणी संगम माविको आइसोलेनसबाट हिँडेका उनीहरू पाँच घन्टा उकालो चढेर दिउँसो २ बजे पिपलचौतारा र सीता जनसेवा माविको क्वारेन्टाइनमा पुगेको एक संक्रमितले बताए । क्वारेन्टाइनभन्दा आइसोलेनस झन् खत्तम रहेको उनीहरूले बताएका छन् । ‘आइसोलेसन राम्रो होला । उपचार होला र बाँचिएला भनेर क्वारेन्टाइनबाट राति हिँडेर आएका थियौँ,’ एक संक्रमितले भने, ‘आइसोलेसन त झन् खत्तम रहेछ । यहाँ त छिटो मरिएला भन्ने चिन्ता लाग्यो ।’ रातभर नसुतेरै बिताएको उनीहरूले बताएका छन् । अस्थायी शौचालय दिशाले भरिएको र झन् फोहोर रहेको उनीहरूले बताए । पानी नभएको, झिंगा र लामुखट्टेले रातभर टोकेको उनीहरूको गुनासो छ । ‘एउटै कोठामा १० जना कोचाकोच गरी राखियो । चिसो भुइँमा पिफर्म ओछ्याइएको थियो । एउटा तन्ना मात्र थियो,’ अर्का संक्रमितले टेलिफोनमा भने । राति नसुतेरै बसेको उनको भनाइ छ । बसिरहेकै वेला विद्यालयको कोठमा सर्प आएको उनले बताए । ‘धन्न बिउँझै थियौँ र ढुंगाले हानेर सर्प मार्‍यौँ । त्यस्तैमा सुतेको भए सर्पले टोकेर मरिने रहेछ,’ उनले भने । सबैले बसेर रातभर सल्लाह गरेको उनीहरूले बताए । आइसोलेसनभन्दा आफ्नै गाउँको स्कुलमा रहेको क्वारेन्टाइन राम्रो रहेको उनीहरूको भनाइ छ । ‘केही उपचार नपाएर आइसोलेसनमा मर्नुभन्दा आफ्नै गाउँको क्वारेन्टाइनमा मरौँला भनेर फर्कियौँ,’ अर्का संक्रमितले भने । प्रहरीले उनीहरूलाई सम्झाउन खोजेको थियो । बाटोमा पनि रोक्न खोजेको थियो । तर, उनीहरूले ‘बरु गोली हान्नुस्, हामी त्यस्तो आइसोलेसनमा बस्न सक्दैनौँ’ भनेर गाउँ फर्केको डुंगेश्वर गाउँपालिका अध्यक्ष नगेन्द्र मल्लले बताए । आइसोलेसनमा पठाएका संक्रमित फर्केर आफ्नै गाउँपालिकामा आएको अध्यक्ष मल्लले बताए । एकैपटक ६४ जनामा कोरोना देखिएपछि व्यवस्थापन गर्न समस्या भएको उनको भनाइ छ । ‘अहिले विद्यालयका सबै क्वारेन्टाइन भरिएका छन् । त्यसैले संक्रमित राख्न समस्या भएको हो,’ अध्यक्ष मल्लले भने, ‘आइसोलेसन राम्रो नभएपछि फर्किएका छन् । उनीहरूलाई गाउँपालिकामै राम्रो व्यवस्था गरेर राख्छौँ ।’संक्रमितको संख्या बढ्दै गएपछि दैलेखका विद्यालयमा बनाएका क्वारेन्टाइनलाई नै आइसोलेसनमा परिणत गरिएको छ । त्यहाँ सेवासुविधा भने केही थपिएको छैन । आइसोलेसनमा परिणत गरिएका क्वारेन्टाइनमा संक्रमितलाई मात्रै राख्ने व्यवस्था गरिएको छ । दैलेखका ११ स्थानीय तहमध्ये १० वटामा संक्रमण देखिएको छ । नारायण नगरपालिकामा मात्रै एक सय ९४ जना संक्रमण देखिएको छ । दैलेखमा शनिबार मात्रै थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म संक्रमितको संख्या पाँच सय दुई पुगेको छ । जसमध्ये एकजनाको मृत्यु भएको छ भने ३० जना निको भएर घर फर्केका छन् । अन्य संक्रमितलाई क्वारेन्टाइनलाई नै आइसोलेसन बनाएर राखिएको छ । क्वारेन्टाइनमा रहेका दुई हजारजनाको स्वाब संकलन गरेर पठाइएको छ । दुई साता बित्न लाग्दा पनि रिपोर्ट आएको छैन ।  नयाँ पत्रिका बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation