फौजदारी मुद्दा खेपेका चार सांसदले गुमाए संविधान संशोधनमा हस्ताक्षर गर्ने मौका

फौजदारी अभियोग खेपिरहेका प्रतिनिधिसभाका चार सांसदले भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटिएको नक्सा पास गर्ने ऐतिहासिक मौका गुमाएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकले नेपालको संविधानको दोस्रो संशोधन विधेयक पारित गरेको थियो। भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापनी क्षेत्र समेटिएको नयाँ नक्सा संविधानको अनुसूचीमा राख्न संविधान संशोधन गरिएको हो।  तर, फौजदारी अभियोग खेपिरहेका ती चार सांसदले भने ऐतिहासिक अवसरको सदुपयोग गर्न पाएनन्। कांग्रेस सांसद विजयकुमार गच्छदार र मोहम्मद अफताव आलम, जनता समाजवादी पार्टी (पहिलाको राजपा) सांसद् रेशमलाल चौधरी र समाजवादी पार्टीका हरिनायारण राैनियारले नक्सा पास गर्ने ऐतिहासिक अवसर गुमाएका हुन्। उनीहरु सांसद् पदबाट निलम्बित भएकाले संविधान संशोधन प्रस्तावमा हस्ताक्षर गर्न नपाएका हुन्।कांग्रेस उपसभापतिसमेत रहेका गच्छदार बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका छन्। आलम ०६४ सालको संविधानसभाको निर्वाचनको अघिल्लो दिन जिउँदै मान्छेलाई इँट्टा भट्टामा हालेर पोलेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका छन्।चौधरी कैलालीको टीकापुर घटनामा जिल्ला अदालतबाट दोषी किटान भइ अहिले काठमाडौंको डिल्लीबजार कारागारमा जन्मकैद भुक्तान गरिरहेका छन्। भने पप्पु कन्ट्रक्सनका मालिकसमेत रहेका रौनियारविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेका हुन्। 

बिना सुचना उपस्थित नभएकाको हकमा छानबिन हुने 

शनिबारको प्रतिनिधीसभामा उपस्थित नभएका सांसदहरु माथि भने पार्टीहरुले छानबिन गर्ने भएका छन्। प्रतिनिधीसभामा तत्काल कायम रहेको संख्या २७५ हो। जसमध्ये चार सांसद निलम्बित रहेको र अग्नि सापकोटा सभामुख रहेकाले उपस्थित हुनुपर्ने संख्या २७० हो। तर, शनिबार २५८ सांसद मात्रै उपस्थित थिए।  उपस्थित भएका सबै सांसदले संशोधन विधेयककको पक्षमा मतदान गरेका थिए। शनिबार उपस्थित नभएका १२ सांसदमाथि भने पार्टीहरुले छानबिन गर्ने तयारी गरेका छन्। शनिबारको बैठकमा उपस्थित भएर पनि समाजवादी पार्टीकी सांसद् सरिता गिरिले भने आफुले दर्ता गराएको संशोधन प्रस्ताव अस्विकृत भएपछि बैठक बहिस्कार गरेकी थिइन्। नेकपाका सांसद् हरिबोल गजुरेल, धनबहादुर बुढा, गोपालबहादुर बम र शिवकुमार मण्डल शनिबारको बैठकमा अनुपस्थित रहे। उनीहरु माथि आवश्यक छानबिन गरिने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए। उनले भने,’हाम्रा केही सांसद् अनुपस्थित भएको पाएका छौं। घरमा लडेर घाइते भएकाले आफू आउन नसक्ने भनेर हरिवोल गजुरेलले मात्रै खबर गर्नुभएको थियो। अनौपचारिकरुपमा अन्य सांसद् घरमै बसेको थाहा पाएका छाैं। बैठक बसेर आवश्यक कारवाही गर्छौ।’ 

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद्हरु सूर्यबहादुर केसी, ज्ञानकुमारी छन्त्याल र नागेन्द्रकुमार रायसमेत अनुपस्थित थिए। जनता समाजवादी पार्टीका अमृतादेवी अग्रहरी, दुलारीदेवी खत्वेनी, प्रमोद साह, सरिता गिरि र सूर्यनारायण यादव  अनुपस्थित थिए। प्रमुख सचेतक उमाशंकर अरगरियाले भने समय अभावका कारण सबैलाई खबर नपुगेको हुन सक्ने बताए। ’दिउँसो १ बजे संसद् बैठक थियो। बिहान ११ बजे संसदीय दलको बैठक बसेर संविधान संशोधनको पक्षमा मतदान गर्ने गरी ह्वीप लगाउने निर्णय भएको थियो। बैठकमै उपस्थित हुनुभएको सांसद् सरिता गिरिलाई आफ्नो प्रस्ताव फिर्ता लिनका लागि निर्देशन दिइएको थियो। उहाँसहित अन्य सांसद्लाई स्पष्टिकरण सोधिन्छ,’ उनले भने, ,’उपत्यका बाहिर भएकालाई संसद्मा उपस्थित हुन समय अभाव हुनसक्छ। तर याहिँ भएर पनि अनुपस्थित भएकालाई स्पष्टिकरण सोधिने छ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation