असार २, गुल्मीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा मुसिकोट नगरपालिकाका ८ जना र रेसुङ्गा नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो ।
मुसिकोट नगरपालिका ३०, २९, २८, २१ र २० वर्षका पुरुष तथा २६ वर्षकी महिला र ५ वर्षकी बालिकामा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
यसैगरी मुसिकोटबाट रिफर गरेर भैरहवामा उपचारत अर्का एक जनामा पनि कोरोना पुष्टि भएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक ढालबहादुर जिसीले बताए । योसँगै मुसिकोट नगरपालिकामा कोरोना संक्रमण पुष्टि हुनेहरूको संख्या ११ पुगेको छ ।
यस्तै, रेसुङ्गा नगरपालिकाका वडा नम्बर ३ का ४८ वर्षका पुरुष, वडा नम्बर ६ का १९ वर्षका पुरुष र वडा नम्बर १४ का २५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले बताए । यससँगै गुल्मी जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ । संक्रमितमध्ये दुई जना उपचारपछि घर फर्किएका छन् भने दुई जनाको मृत्यु भइसकेको छ ।
जिल्लामा हालसम्म ३७२९ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ । पीसीआर विधिबाट परीक्षण गर्न ७०६ जनाको स्वाब संकलन गरिएकोमा ४०५ जनाको मात्र रिपोर्ट आएको छ । ३०१ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । गुल्मी जिल्लामा दुई हजार ८ सय ९ जना क्वारेन्टिनमा बसेका छन् । भारतलगायत तेस्रो मुलुकबाट आएकाहरूलाई ५ हजार ३ सय ८ बेडको क्वारेन्टिन तयार गरिएको छ । जिल्लामा हाल ७७ बेडको आइसोलेसन बेड तयार गरिएको छ।