नौ महिनादेखि प्रेम सम्बन्ध, क्वारेन्टाइनमा विवाह

असार २, दाङ : घोराही उपमहानगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका एक जोडीले विवाह गरेका छन्।  घोराही–१८ का २३ वर्षीय वली थरका युवक र तुलसीपुर उपमहागरपालिका–५ की चौधरी थरकी २१ वर्षीय युवतीले गत जेठ ३२ मा क्वारेन्टाइनमै विवाह गरेको वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्यालले जानकारी दिए। करिब २५/२६ दिनअघि भारतको दिल्लीबाट आएर उनीहरु वडा नम्बर १८ को आधारभुत विद्यालय बेलघारी क्वारेन्टाइनमा बसेका  थिए। ‘नौ महिनाअघि देखि उनीहरुको प्रेम सम्बन्ध रहेछ,’ वडाध्यक्ष अर्यालले भने, ‘उनीहरु सँगै भारत गएका र सँगै आएका रहेछन्।
उनीहरुले जेठ ३२ मा धार्मिक संस्कार अनुसार सामाजिक दूरी कायम गर्दै बरपिपललाई साक्षी राखी विवाह गरेका हुन्।’  ती दम्पत्तिको पिसिआर रिपोर्ट नेगेटिभ आएको र उनीहरुलाई १४ दिनसम्म छुट्टाछुट्टै बस्ने निर्देशन दिएर घर पठाएको वडाध्यक्ष अर्यालले बताए। असारमा नौ महिना हुने भएकाले उनीहरु दुवैको आग्रह र घरपरिवारको सरसल्लाह अनुसार क्वारेन्टाइनमा विवाह गरिदिएको समेत उनले बताए । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation