वेदना पोख्न माइत जाने सरिता गिरीको इच्छा तत्कालका लागि अधुरै

समारचा टिप्पणी

हरेक व्यक्तिको आफ्नो जन्मघर प्यारो हुन्छ । अझ विवाह गरेर पठाइएको छोरीलाई माइती घर झनै प्यारो हुन्छ । घरमा भोग्नु परेका दुःख र पीडालाई हलुका महसुस गराउन हरेक महिला माइतीमा जान चाहन्छन् । महिलाहरु माइत गएर आमा अर्थात माइती घरमा भएको जो कोहीलाई आफ्नो दुःख र पीडा सुनाएर सहजता ल्याउन सल्लाह लिन्छन् । घरमा जतिसुकै सुख र आनन्द भए पनि माइत जान महिला उत्सुक र इच्छुक हुन्छन् । यो स्वभाविक पनि हो । यसैले होला कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन  र सीमामा आवातजावतमा प्रतिबन्ध लगाइएका बेला मंगलबार सांसद सरिता गिरी माइती देश भारत जान चाहिन् । भारतको बिहार माइती घर भएकी सरिता गिरी नेपालकी बुहारी हुन् । बुहारी भएसँगै नेपाली नागरिकता लिएर नेपाली नागरिक भएकी उनी संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा सदस्य पनि हुन् । उनी जनता समाजवादी पार्टी राजनीति गरिरहेकी छन् । तर, हालै नेपाल सरकारले लिम्पियाधुरा कालापानी र लिपुलेकलाई समेटेर राजनीति तथा प्रशासनिक नक्सा अद्यावधिक गरेपछि सांसद गिरीको असन्तुष्टि मात्रै थिएन, विरोध नै गरेकी थिइन् । सरकारले ल्याएको नयाँ नक्साअनुसारको निशान छापमा नक्सा समावेश गर्न संविधानको अनुसूची ३ संशोधनका लागि नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७प्रति उनले संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् । तर, सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव स्वीकृत गर्न नमिल्ने जानकारी गराएपछि उनी संसद बैठकबाट बाहिरिएकी थिइन् । उनी संसद बैठकबाट बाहिरिएकै दिन शनिबार प्रतिनिधि सभाले सो विधेयक दुई तिहाइ भन्दा बढी मतले पारित गरेको थियो । जुन भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि भारतले दाबी गरिरहेको छ । भारतले आफ्नो नक्सामा समावेश गरेर सो क्षेत्रमा बाटो पनि बनाएको छ । तर, नेपालले उक्त भूमि समावेश गरेर नक्सा जारी गर्दा भारतलाई नसोधेको भन्दै संसदमा सांसद गिरीले आक्रोश पोखेकी छन् । अहिले भारत र नेपालबीच सीमा विवाद चर्केको छ । माइती  र घरबीच सीमा विवाद भइरहँदा मंगलबार घर (सिरहाको बस्तीपुर)बाट उनी माइती बिहार जान चाहेकी थिइन् । तर, घर र माइतीघरकै सुरक्षाकर्मीले जान र आउन दिएनन् । सिरहाको ठाडी नाकाबाट मंगलबार माइत भारतको बिहारतर्फ जान लागेकी उनलाई मंगलबार नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट घरतिरै फर्काइदिएका छन् । तत्कालका लागि उनी माइत जान नपाउने भएकी छन् । लकडाउन वा सीमा खुलेपछि भने उनी माइत जान पाउने छिन् । सरिता गिरी जस्तै तराई मधेशका धेरै महिला अहिले माइत जानबाट बन्चित भएका छन् । 
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation