कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएसँगै प्रदेश २ र ५ ‘हटस्पट’ बन्न लागेका छन्। दुवै प्रदेशमा संक्रमितको संख्या अन्य पाँच प्रदेशको भन्दा बढी छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, अहिलेसम्म नेपालमा ६ हजार पाँच सय ९१ जनामा कोरोना देखिएको छ। जसमध्ये १९ जनाको मृत्यु भएको छ भने एक हजार एक सय ५८ जना निको भएर घर फर्केका छन्।अहिलेसम्म सबैभन्दा बढी प्रदेश २ मा दुई हजार चार सय ६५ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये तीन जनाको ज्यान गएको छ। बुधबारसम्म चार सय ५४ जना निको भएर घर फर्केका छन्।त्यस्तै, दोस्रो नम्बरमा प्रदेश ५ रहेको छ। यो प्रदेशमा एक हजार आठ सय २१ जनामा कोरोना देखिएको छ। जसमध्ये ६ जनाको मृत्यु भएको छ। अहिलेसम्म सबैभन्दा बढी प्रदेश ५ मै कोरोना संक्रमितको ज्यान गएको छ। बुधबारसम्म तीन सय ५२ जना निको भएका छन्।तेस्रो नम्बरमा कर्णाली प्रदेश रहेको छ। कर्णालीमा एक हजार एक सय चार जनामा कोरोना देखिएको छ। कोरोनाबाट चार जनाको मृत्यु भएको छ भने ८६ जना निको भएका छन्।चौथो नम्बरमा रहेको प्रदेश १ मा चार सय चार जनामा कोरोना देखिएको छ। प्रदेश १ मा कोरोनाबाट कसैले ज्यान गुमाउनु परेको छैन भने अहिलेसम्म एक सय ७४ जना निको भएका छन्।सुदूरपश्चिम प्रदेश पाँचौ नम्बरमा छ। सुदूरपश्चिममा तीन सय ४२ जनामा कोरोना देखिएको छ भने दुई जनाको मृत्यु भएको छ। अहिलेसम्म ४२ जना निको भएर घर फर्केका छन्।छैटौं नम्बरमा बागमती प्रदेश रहेको छ। बागमतीमा दुई सय ३४ जनामा कोरोना देखिएको छ भने चार जनाको मृत्यु भएको छ। बुधबारसम्म ५० जना निको भएका छन्।सबैभन्दा कम गण्डकी प्रदेशमा दुई सय २१ जामा कोरोना देखिएको छ। कोरोनाबाट एक जनाको मृत्यु भएको छ भने १४ जना निको भएका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म पाँच हजार चार सय १४ जना आइसोलेसनमा रहेका छन्। अहिलेसम्म एक लाख ४३ हजार सात सय ३८ जनाको पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको छ।अझै एक लाख ३३ हजार नौ जना क्वारेन्टाइनमा रहेका छन्। उनीहरुको कोरोना परीक्षण गर्न बाँकी छ। तर, परीक्षणले गति लिन सकेको छैन। केही ठाउँमा आवश्यक उपकरण नहुँदा परीक्षण रोकिएको छ। प्रयोगशालाको क्षमता भन्दा बढी परीक्षण गर्न बाँकी रहेकाले नमुना संकलन समेत रोकिएको छ।











