कर्णाली प्रदेशमा मानव अधिकारको अवस्थामा सुधार हुन सकेको छैन। विभिन्न कारण यो यो क्षेत्रमा मानव अधिकारका घटना अघिल्ला वर्षहरुदेखि तुलनात्मक रुपमा उत्तिकै मात्रामा हुने गरेको देखिएको छ।
मानव अधिकार सञ्जाल (इन्सेक)ले तयार पारेको सन् २०१९ को वर्ष पुस्तक अनुसार यो प्रदेशमा मानव अधिकारको क्षेत्रमा सुधार हुन नसकेको देखिएको हो। सन् २०१९ मा कर्णाली प्रदेशमा ४८६ जना मानिस मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको पुस्तकमा उल्लेख छ। सन् २०१८ मा ५०२ जना पीडित थिए।
इन्सेकका अनुसार मानव अधिकार उल्लंघनका घटनाबाट ५ महिला र ६८ जना पुरुषसहित ७३ जना पीडित बनेका छन् भने ३२९ महिला र ८४ जना पुरुषसहित ४१३ जना ज्यादतीका घटनाबाट पीडित छन्।
सन् २०१८ को तुलनामा २०१९ मा मानव अधिकारको अवस्थामा केही मात्रामा सुधार देखिएपनि जातीय विभेद र अपहरणका घटना भने बढेको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले बताए। उनका अनुसार यो प्रदेशमा जातीय विभेदका घटनाबाट १८ जना पीडित बनेका छन्। यस्तै चार जना अपहरणमा परेको इन्सेकले उल्लेख गरेको छ।
यसैगरी २०१९ मा बाल अधिकारका घटनामा ५५ जना बालवालिका पीडित भएको इन्सेकले उल्लेख गरेको छ।