भारतको दादागिरीः नेपाली जमिन भोग गर्न एसएसबी बन्यो बाधक

राम बिकास चाैधरी, भैरहवा- ‘बाबुबाजेले जोतभोग गर्दै आएको जग्गा स्वतन्त्रतापूर्वक भोग चलन गर्न पाएका छैनौं । अहिले हामीर्ला हाम्रै भूमिबाट भारत बेदखल गर्न खोज्दै छ,’ स्थानीय मोहम्मद सिद्दिक भन्छन्,’दशगजामै स्थायी क्याम्प बनाएर बसेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हाम्रो जग्गा कब्जाउने कसरतमा लागेपछि स्थानियमा त्रास बढेको छ ।’ ‘भारतीय एसएसबी कहिलेकाही परेड पनि हाम्रै खेतमा खेल्छ, हामी निहत्था नागरिकहरु चाहेर पनि प्रतिकार गर्न सकेका छैनौं,’ मंझरियाका बद्रे आलम नाऊ भन्छन्, ‘हाम्रो बाबुबाजेले लगाएका आँपको बगैंचा रातारात काटेर सखाप बनाएको छ । बाँकी रहेका दुई चार वटा हामीहरुकै रुख हामीलाई काट्न दिदैंन् ।’
‘केही वर्ष पहिला गाउँको दुर्गा मन्दिरमा यज्ञ गर्दा आफ्नै भूमिमा रहेको रुखबाट दाउरा काट्न भारतीय एसएसबीसँग अनुमति लिनु परेको थियो ।’ ‘हाम्रो जग्गा पूर्जामा मात्र सिमित हुन पुगेको छ, ’ समाजसेवी राजमन हरिजनले दुःखेसो पोखे । मोहम्मद सिद्दिक, बद्रे आलम नाऊ र राजमन हरिजन आवाज उठाउने प्रतिनिधी पात्र मात्र हुन् ।
जो नेपाली नागरिक हुन् । जग्गाको लालपुर्जा हातमा छ । जग्गा बाबुबाजेले अर्जेका हुन् । पैतृक रुपमा प्राप्त गरेको जग्गाको जोतभोग समेत गर्दै आएका सिद्दिक, नाऊ र हरिजनजस्ता धेरै व्यक्तिहरु आफ्नै जग्गाबाट बेदखल हुनुपरेको छ-भारतीय अर्धसैनिक बल एसएसबीको ज्याततीका कारण ।  
उनीहरुलाई आफ्नै जग्गाबाट बेदखल हुन थालेको आभास त्यस बेला हुन गयो, जब भारतीय अर्धसैनिक बलले गाउँपालिकाले गर्न लागेको तटबन्धनको कार्य बलपुर्वक रोक्यो । घटना रुपन्देही जिल्ला मर्चवारी गाउँपालिका वडा नंं. ७ मन्झरिया क्षेत्रको हो । त्यहाँ रहेको डण्डा नदीको कटानले किसानको बहुमुल्य जग्गा नदीमा विलिन हुन थालेको थियो । डण्डा नदीमा भइरहेको कटान नियन्त्रणका लागि मर्चवारी गाउँपालिका वडा नं. ७ ले आव २०७६/०७७ मा विनियोजन गरेको ४ लाख रुपैयाँबाट तटबन्धन बनाउने काम शुरु गरिएको थियो । जेठ २७ गतेबाट शुरु गरिएको यस तटबन्ध निर्माण कार्यलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जेठ ३० गते बिहान रोक्यो । डण्डा कटान नियन्त्रणका लागि २८ फिट लामो र तीन फिट चौडाईंको तटबन्ध बनाई रहँदा भारतीय एसएसबी निर्माण कार्य रोकेको वडाध्यक्ष मातिबर कोहांरले बताए ।
हाम्रै भूमिमा भारतले दादागिरी देखाउँदा नेपाली सुरक्षाकर्मी मुकदर्शक बनेको उनको आरोप छ । नेपालको नक्सामा भारततर्फ भाँसिएको जस्तो देखिने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारको पूर्बी दशगजा दण्डपाडी ऋषिको नामले चर्चित डण्डा नदीले सीमांकन गरेको छ ।डण्डाको पूर्बी तटमा भारतले बेस क्याम्प बनाइ एसएसबी फोर्स तैनात छ भने पश्चिमी तटमा नेपालतर्फ सशस्त्र प्रहरी र स्थानियको निरन्तर पहरा छ ।
यति मात्र होईन, नदी कटान नियन्त्रणका लागि सो क्षेत्रमा थप तटबन्धनको आवश्यकता रहेको बताउँदै वडाध्यक्ष मातिबर अगाडि भन्छन्, ‘डण्डा नदीको पूर्बी किनारातर्फ भारतीय एसएसबीले दशगजा मिचेर कार्यालय भवन ठड्याएको छ । पश्चिमी किनारा नेपालतर्फ नदी कटान अनियन्त्रित बनेको छ ।’ ‘भारतको खुल्ला दादागिरि’ को संज्ञा दिदै वडाध्यक्ष मातिबरले, ‘भारतीय एसएसबीले आफ्नो तर्फ कब्जा जमाएर बसेको छ, हाम्रोतर्फ नदी कटान नियन्त्रणका लागि तटबन्ध बनाउन पनि रोक लगाएको छ । ’ उनले सीमा छुट्याउन र कटान नियन्त्रण गर्न नेपाल सरकार तथा सरोकारवाला निकायसँग माग गरे ।भारतीय पक्षले दादागिरी देखाउँदै तटबन्ध निर्माणको काम रोकेको मर्चवारी गाउँपालिकाका अध्यक्ष केशव नन्द बनियाले गुनासो गरे । सशस्त्र प्रहरी निरीक्षक नवराज केसीले भारतीय पक्षले शुरुमा तटबन्ध बनाउने काम गर्न दिएको बताउँदै ५ दिन पश्चात भारतीय पक्षले रोकेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation