मनाङका पहिलाे पटक काेराेना, गण्डकी प्रदेशमा थपिए ४२ कोरोना संक्रमित

पोखरा – मनाङको चामे गाउँपालिकाका एक कर्मचारीसहित गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिहान दिएको जानकारीअनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हिमाली जिल्ला मनाङमा कोरोना संक्रमण देखिएको पहिलो पटक हो । गण्डकी प्रदेशमा अब मुस्ताङबाहेक १० वटै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । ४२ जना थपिएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २८९ पुगेको छ ।
मनाङको चामे गाउँपालिकाका कर्मचारीमा कोरोना पुष्टि
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार मनाङको चामे गाउँपालिकामा कार्यरत एक जना पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको छ । उनको स्थायी ठेगाना भने कपिलवस्तुको बाँणगंगा–१४ रहेको शर्माले जानकारी दिए ।
यसैगरी पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा १७ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु १७ देखि ४५ वर्ष उमेर समूहका पुरुष हुन् । डा. शर्माका अनुसार दुई जनाको भने उमेर खुलेको छैन । यसैगरी पूर्वी नवलपरासीकै गैंडाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । तनहुँका १२ संक्रमितमध्ये ऋषिङ गाउँपालिकाका ७, भानु नगरपालिकाका ४ र शुक्लागण्डकी नगरपालिकाका १ जना छन् । उनीहरु १८ वर्षदेखि ५२ वर्ष उमेर समूहका पुरुष हुन् । यस्तै गोरखाको पालुङटार नगरपालिकामा ७ जना र शहिद लखन गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालुङटारमा २३ देखि ४६ वर्ष उमेर समूहका ६ जना पुरुष र ४० वर्षीया एक जना महिलामा संक्रमण देखिएको छ ।गोरखाकै शहिद लखन गाउँपालिकामा ५४, ३१, ३८ र २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation