धनुषाको सबैला नगरपालिकामा बुबाको शवलाई पाँच छोरीहरुले काँध दिएका छन्।
सबैला नगरपालिका वडा नम्बर दुईका नेपाली कांग्रेसका स्थानीय नेता रामनारायण यादवको मंगलबार निधन भएपछि उनको शवलाई पाँच छोरीहरुले काँध दिएर घाटसम्म पुर्याएका हुन्।
उनको शवलाई छोरीहरू ४० वर्षीया नेतुर यादव, ३७ वर्षीया राजोदेवी यादव, ३५ वर्षीया प्रमीलादेवी यादव, ३२ वर्षीया अनिता देवी यादव र ३० वर्षीया गोरकी देवी यादवले काँध दिएका हुन्।
मृतक यादवको पाँच छोरी मात्रै भएकाले शवलाई उनीहरुले नै काँध दिएको सबैला नगरपालिकाका प्रमुख विजय शंकर साहले जानकारी दिए।
बुबाको शवलाई छोरीहरूले नै काँध दिनु एक उदाहरणीय कदम रहेको प्रमुख साहले बताए। निधन भएका रामनारायणको शवलाई श्रीमती रबिया देवीले दागबत्ती दिएकी हुन्।