व्यवहार र गतिविधिबाट प्रस्ट हुन्छ, राजपा नेताद्वय अनिलकुमार झा र राजकिशोर यादव पार्टी एकीकरणप्रति सन्तुष्ट छैनन् । तर, औपचारिक रूपमा उनीहरुले आफ्नो असन्तुष्टिका कारण सार्वजनिक गरेका पनि छैनन् ।समाजवादी र राजापबीच वैशाख ६ गते भएको एकीकरण घोषणा र जेठ २५ मा निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा यी दुवै नेता सहभागी भएनन् । निर्वाचन आयोगमा बुझाइएको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिको सूचीमा भने दुवैको नाम छ । योगमा बुझाउने दस्तावेजमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका सदस्यले नागरिकताको प्रतिलिपि बुझाउनुका साथै हस्ताक्षर गर्नुपर्ने हुन्छ । ४९ जनाले प्रक्रिया पूरा गर्दा झा र यादवले न नागरिकताको फोटोकपी बुझाएका छन् न हस्ताक्षर नै गरेका छन् । बरु, उनीहरू केन्द्रीय कार्यकारिणी समितिमा नपरेका कारण असन्तुष्ट बनेकाहरूलाई एकीकृत गरेर राजपालाई ब्युँताउने, नसके पार्टीभित्र ‘बार्गेनिङ पावर’ बढाउने कसरतमा देखिन्छन् ।
झाले धेरैअघिदेखि नै आफ्नो असन्तुष्टि अनौपचारिक रूपमा जनाउँदै आएका थिए तर त्यही विषयलाई उनी मिडियामा ल्याउन चाहँदैनथे । धेरैपटक कान्तिपुरसँगको कुराकानीमा उनले समय आएपछि आफू सार्वजनिक रूपमा प्रकट हुने बताउँदै आए । पार्टी एकीकरण भएको दुई महिना लाग्दा उनले यही कुरा दोहोर्याउन छाडेका छैनन् ।अर्का नेता यादव आवरणमा एकीकरणलाई लिएर सकारात्मक देखिन्छन् । तर, भित्रभित्रै उनमा चर्को असन्तुष्टि छ । केही दिनअघि राजेन्द्र महतोलाई कटाक्ष गर्दै उनले आफ्नो असन्तुष्टि ट्वीटरमा पोखेका थिए । पछिल्लोपटक यादव एकीकरणपछि बनेको जनता समाजवादीको केन्द्रीय कार्यकारिणी समितिप्रति बढी खनिएका छन् । केन्द्रीय कार्यकारिणी समितिमा छनोट भएका सदस्यहरुको विषयलाई लिएर आन्तरिक शक्ति सन्तुलन, क्षेत्रीय र समावेशी नमिलाएको भन्दै राजपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोप्रति बढी आक्रोश पोख्दै आएका छन् ।
किन असन्तुष्ट छन् ?
झा र यादव समाजवादी र राजपाको एकीकरणपछि मात्रै असन्तुष्ट बनेका होइनन् । डेढ वर्षअघिदेखि चल्दै आएको एकीकरण प्रक्रियाबाटै असन्तुष्ट थिए । पहिला उनीहरु राजपाको महाधिवेशनपछि एकीकरण गर्नुपर्ने पक्षमा थिए । यी दुईको असन्तुष्टिलाई पर्वाह नगरी अध्यक्षमण्डलका चार नेता एकीकरणको पक्षमा उभिएकाले दुई पार्टीबीचको एकता सम्भव भएको थियो । अध्यक्षमण्डलका ६ नेतामध्ये एकको अनुभवमा एकीकरणको विरोधमा जानुको पछि दुई कारण विद्यमान छन् । पहिला उनीहरु आफ्नै व्यवस्थापन के हुन्छ भन्ने चिन्तामा छन् । दोस्रो, राजपामा जस्तै एकीकृत पार्टीमा भागबन्डा नपाइने र आफ्नो भूमिका र हैसियतसमेत खुम्चिने भय उनीहरूमा छ । ‘राजपामा छँदा भागबन्डा गरेर हालीमुहाली चलाइरहेको अवस्था एकीकृत पार्टीमा हुन्न भन्ने नै मुख्य चिन्ता हो,’ ती नेताले भने ।पछिल्लोपटक राजकिशोरले जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा शक्ति सन्तुलनको विषयलाई बढी जोड दिनुका पछिको अन्तर्य भागबन्डामै आएर जोडिन्छ । केन्द्रीय कार्यकारिणी समितिमा राजपाले पाएको २६ सदस्यमा महन्थ ठाकुरले ९, महतोले ८, महेन्द्रराय यादव र शरतसिंह भण्डारीले ३/३, यादव र झाले १/१ सदस्य पाएका छन् । उनीहरुले पाएको १/१ जनामा उनीहरुकै नाम छ । तत्कालीन ६ मधेस केन्द्रित दलबीच २०७४ वैशाख ७ गते एकीकरण भई राजपा बन्दा महन्थ ठाकुरको एकल नेतृत्वमा पार्टी सञ्चालनमा थियो । ठाकुरले भागबन्डालाई भन्दा आफ्नो विवेकलाई प्राथमिकतामा राखेपछि उनको एकल नेतृत्व त्यहाँ स्वीकार भएन ।
२०७५ मंसिर ४ बाट ६ नेताबीच दुई/दुई महिना नेतृत्व लिने गरी चक्रिय प्रणाली सुरु भयो । त्यसपछि राज्य र पार्टी संयन्त्रका सबै स्थानमा भागबन्डा संस्थागत भयो । प्रत्यक्ष र समानुपातिक उम्मेदवारदेखि मन्त्री, राष्ट्रियसभाको सदस्यलगायत राज्य र पार्टी संरचनामा भागबन्डाकै आधारमा तय हु‘दै गए । प्रदेश २ मा समाजवादीसँगको गठबन्धनमा सरकार निर्माण गर्दा राजपाले तीन मन्त्री र तीन राज्यमन्त्री पाएको थियो । जसमा ठाकुर, महतो र महेन्द्रराय यादवको कोटाबाट एक/एक मन्त्री भए । यादव, झा र शरतसिंह भण्डारीको भागमा एक/एक राज्यमन्त्री बाँडियो । भण्डारीले राज्यमन्त्री लिन अस्वीकार गरेपछि ठाकुरले नै बनाए । भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा झाले आफ्नै श्रीमती डिम्पल झालाई लगेका छन् । यादवले भने आफ्नो निकटका सांसद नेत्रविक्रम शाहलाई नबनाई ठाकुरनिकट सुरेश मण्डललाई वन, उद्योग, पर्यटन राज्यमन्त्री बनाएका थिए ।
दुई वर्षको कार्यकाल सकिएर केही समय रिक्त स्थानमा भएको राष्ट्रियसभाको निर्वाचनमा महतोको कोटाबाट मृगेन्द्रकुमार यादव र भण्डारीको कोटाबाट शेखरकुमार सिंह सांसद बनेका छन् । त्यसअघि ठाकुरको कोटाबाट वृषेशचन्द्र लाल र महेन्द्रराय यादवको कोटाबाट रमेशप्रसाद यादव सांसद भएका थिए । यसपछि झा र यादवको पालो थियो । तर, पार्टी एकीकरणसँगै राजपाभित्र चलेको भागबन्डा अन्त्य भएको छ । एकीकरणपछि बनेको केन्द्रीय कार्यकारिणी समितिको छनोटले समावेशी मुद्दा र पार्टीभित्रको शक्ति सन्तुलनको मुद्दालाई पूरै बेवास्ता गरिएको यादवले बताए । ‘पार्टीभित्रै समावेशी पद्धति नअपनाउने अनि समावेशी भएन भनेर राज्यविरुद्ध कुन नैतिक धरातलमा लड्ने ?’ उनको प्रश्न छ । दुई/दुई महिनाको चक्रीय प्रणालीमा पार्टी चलेका आधारमा उनीहरुले राजपाका ६ नेताको हैसियत बराबरी रहेको बताउँदै आएका छन् । त्यसैका आधारमा पार्टीभित्रको शक्ति सन्तुलन मिलाउनुपर्नेमा त्यसलाई उपेक्षा गरेर ठाकुर र महतोले पार्टीभित्र आफ्नो मात्रै वर्चस्व स्थापित गर्न खाजेको उनीहरुको आरोप छ ।
कसको शक्ति कति ?
झा ०६४ को निर्वाचनपछि महतो नेतृत्वमा रहेको मधेसको पुरानो क्षेत्रीय पार्टी सद्भावनाबाट अलग्गिएर आफ्नै नेतृत्वमा नेपाल सद्भावना पार्टी स्थापना गरेका थिए । त्यतिबेला सदभावनासँग ९ सांसद थिए । झाले चार सांसद लिएर पार्टी विभाजन गरेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनको पार्टीले एक सिट पनि जित्न सकेन । समानुपातिक मतबाट एक सिट पायो । त्यसमा उनले आफ्नै श्रीमती डिप्पल झालाई सांसद बनाएका थिए । २०७४ को निर्वाचन परिणामले हेर्ने हो भने संघमा झा आफूमात्रै छन्, प्रदेशमा उनीनिकट समानुपातिकबाट बनेका दुई सांसद छन्– उनकै श्रीमती डिम्पल झा र अल्का झा । अल्का तत्कालीन नेपाल सद्भावना र पछि राजपामा पनि महासचिव थिइन् ।
राजकिशोर यादवको राजनीतिक यात्रा २०६४ को संविधानसभा निर्वाचनबाट मात्रै सुरु भएको हो । उपेन्द्र यादव नेतृत्वको तत्कालीन मेधेसी जनअधिकार फोरममै उनी आबद्ध थिए । संसद्मा उनको प्रवेश पहिलो संविधानसभा निर्वाचनबाट भएको थियो । त्यसअघिको विद्यार्थी कालमा उनको राजनीतिक दर्शन प्रस्ट थिएन । लोकतान्त्रिक धारमा थिए । पहिलो संविधानसभा निर्वाचनपछि बनेको तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकार सेनापति प्रकरणबाट विस्थापित भएसँगै यादव नेतृत्वको फोरम सरकार बनाउने र फाल्ने दुष्चक्रममा एकपछि अर्को गर्दै फुट्दै जान थाल्यो । दाहाल नेतृत्वको सरकार फालेर माधव नेपाल नेतृत्वको सरकार बनाउन फोरमबाट विजय गच्छदार (हाल कांग्रेसमा प्रवेश) ले विद्रोह गरेका थिए । ४० प्रतिशत सांसद लिएर गच्छदारले आफ्नो नेतृत्वमा लोकतान्त्रिक फोरम गठन गरे । त्यसपछि अमर यादव नेतृत्वको तराई मधेस फोरम, भाग्यनाथ गुप्ताको मधेसी जनअधिकार फोरम (मधेस) र जयप्रसाद गुप्ताको मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) बनेर चारवटा पार्टी बने ।राजकिशोर जयप्रकाश गुप्तासँग निकट भएकाले मूलधारको पार्टी छाडेर गुप्ताकै पार्टीको दोस्रो नेता बन्न पुगे । गुप्ता भ्रष्टाचार मुद्दामा जेल परेपछि जनअधिकार फोरम (गणतान्त्रिक) को कमान्ड आफैंले लिए । २०७० को चुनावमा राजकिशोरको पार्टीले पनि समानुपातिकबाट एउटा मात्रै सांसद पायो । त्यतिबेला उनले पनि आफ्नै श्रीमती सरिता यादवलाई सांसद बनाए ।०७४ को निर्वाचनपछि झा र यादवको पार्टीभित्रको स्ट्रेन्थ समान देखिन्छ । केन्द्रमा उनी पनि एक्ला छन् । प्रदेशमा उनका दुई सांसद छन् । पछिल्लोपटक महतोसँग असन्तुष्ट रहेका बिक्की यादव र रिना यादवलाई निकटमा राखेका छन् । ‘संगठनको मुख्य जनाधार नै ठाकुर र महतोको हो । पार्टीभित्र कसको स्ट्रेन्थ कति छ भन्ने कुरा ०७४ को निर्वाचनपछि राजपाले तय गरिसकेको छ,’ नेता मनीष सुमनले भने, ‘राजपामा नेताहरुको वरियता जुन आधारमा तय गरिएको छ, संगठनको स्ट्रेन्थ पनि त्यही हो ।’ राजपाको वरियतामा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरतसिंह भण्डारीपछि मात्रै झा र यादव आउँछन् ।‘झा र यादवजीले किन मुख फुलाउनुभएको हो, बाहिर सुन्न पाएको छैन । आफैंले दु:खेसो पनि पोख्नुभएको छैन । असन्तुष्ट केमा हो भन्ने नै प्रस्ट छैन,’ उनले भने, ‘६ जना अध्यक्ष बराबरी हो, त्यही आधारमा हैसियत पाउनुपर्छ भन्ने हो भने यस फर्मुला मिल्दैन । कसको हैसियत कति भन्ने कुरा २०७४ को निर्वाचनले तय गरिसकेको छ । जनाधारका आधारमा हैसियत तय हुने हो । यो पदमा म पनि थिएँ भन्ने आधारमा होइन ।’ कान्तिपुर दैनिकमा खबर छ ।