एक्कासी नदीको बहाव बढ्दा वाणगंगा नदी पसेका दुईजना नदिमै अड्किए

कपिलवस्तु- कपिलवस्तुको वाणगंगा नदीको बीचमा दुई जना व्यक्ति अड्किएका छन् । शुक्रबार (आज) एकाविहानै नदीमा निस्किएका दुई व्यक्ति एक्कासी नदीको बहाव बढेपछि बीचमै अड्किएका हुन् । उनीहरुलाई विहान ७ बजेदेखि सुरक्षाकर्मीले उद्धारको प्रयास थालिरहेका छन् । नदीको बहाव तीव्र गतिमा रहेको कारण उनीहरुलाई उद्धार गर्न समस्या भैरहेको छ । वाणगंगा पूल नजिकै उक्त प्रयास थालिएको हो । यी दुई व्यक्ति वाणगंगा पूल आसपासका बासिन्दा रहेको बताइएको छ । राति नदीमा आएको बाढीले ल्याएका दाउरा संकलनका लागि यी दुई व्यक्ति नदीमा गएको जनाइएको छ । तर, एका-एक अर्घाखाँचीमा पानी परेपछि वाणगंगा नदीको बहाव बढेको छ ।
बर्षेनी वाणगंगा नदीले जमीन कटान गर्दै जादा वाणगंगा नदी ठूलो भूभाग हुँदै बग्ने गर्छ । उनीहरु नदी बीचमा रहेका छन् । वरिपरि ठूलै बाढी आएपनि ती व्यक्ति रहेको स्थानमा नदी पसिसकेको छैन् । वरपर बाढीको बेग तीव्र हुँदा नेपाली सेना र सशस्त्र प्रहरीका गोताखर व्यक्ति भएको स्थानमा जान सकेका छैनन् । यद्यपि विहान १० बजे सशस्त्र प्रहरी र नेपाली सेनाका तीन जना जवान नदीमा पसेर उद्धारका लागि पुगेका छन् । नदीमा अड्कीएका व्यक्ति श्रीमान र श्रीमती रहेको प्रहरीले जनाएको छ ।अहिले वाणगंगा पूलमा मानिसको ठूलो भीड लागेको छ । नदीमा फसेकालाई हेर्न भन्दै पूलमा ठूलो भीड लागेको हो । कोरोना भाइरसको संक्रमण रोक्न सामाजिक दुरी कायम गर्नुपर्ने भएपनि यहाँ कायम भएको थिएन । प्रहरीले भीडभाड हटाउन विभिन्न प्रयास गरेको छ ।

मायादेवीअनलाइबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation