सरकारको निर्णय : दिउँसोभरि खुला, रातभरि लकडाउन

काठमाडौं । दुईजना कोरोना संक्रमित देखिँदा कडा लकडाउन घोषणा गर्ने सरकारले अहिले दैनिक चार–पाँच सय संक्रमित थपिँदा भने खुकुलो बनाएको छ । निजी सवारीसाधन विना रोकतोक चलेका छन् । सडकमा मानिस हिँडिरहेका छन् । सबै पसल, व्यवसाय सञ्चालनमा आएका छन् । सरकार अझै भन्दैछ, लकडाउन कडा पार्ने निर्णय भएको छ, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनू ।सरकारले शुक्रबारदेखि दिनभरि खुला रातभरि लकडाउनको नयाँ नियम लागू गरेको छ । रातिराति हिँडेका मानिसबाट कोरोना संक्रमण फैलिएको निष्कर्ष निकाल्दै सरकारले यो निर्णय गरेको हुनुपर्छ । दिनभरि हजारौं मानिस सडकमा निस्किँदा कोरोना संक्रमण विस्तार नहुने सरकारको अनुमान हो कि भन्ने सर्वसाधारणको बुझाइ छ ।सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म बाहिर नहिँड्न नयाँ निर्णय गरेपछि यसको आलोचना भएको छ । रातिराति काठमाडौं प्रवेश गर्ने मानिस बढेपछि सरकारले यस्तो निर्णय गरेको हुनसक्ने बताइएको छ ।कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ ।बैठकले महामारी नियन्त्रणमा प्रदेश र स्थानीय सरकारले गरेका कामको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा थप समन्वय गर्दै लैजाने निर्णय गरेको केन्द्रका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी र्दिएका छन् । बैठकले देशैभरका क्यारेन्टिनस्थललाई थप व्यवस्थित गर्दै लैजाने र त्यसको अनुगमन र सहजीकरणको काम प्रदेश सरकारले गर्ने, क्वारेन्टिनमा रहेकाको शीघ्र स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय परीक्षण निर्देशिकाअनुसार गरेर त्यहाँ बसेको दुई हप्ताभित्र सक्ने निर्णय गरेको छ ।सङ्क्रमण बढ्दै गएपछि थप आइसोलेसन केन्द्रको आवश्यकता पर्ने र त्यसको व्यवस्थान गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ  कोरोनाको पिसिआर परीक्षण प्रयोगशालाको क्षमता बढ्दै गएको र शुक्रबार मात्रै छ हजार ३०० को स्वास्थ्य परीक्षण गरिएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । परीक्षणको थप क्षमता बढाउनका लागि राष्ट्रिय परीक्षण निर्देशिकाअनुसार नमूना लिने र परीक्षण गर्ने निर्णय गरिएको छ ।कोरोनाको सङ्क्रमणका कारण स्वास्थ्य जोखिममा रहेका महिला, बालबालिका, वृद्धवृद्धा, फरक क्षमता भएकालगायत नागरिकको स्वास्थ्य परिक्षण र उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation