विद्यालयको शुल्क बुझाउन नीजि विद्यालय सञ्चालकको अनुरोध

काठमाडौं : नीजि विद्यालय सञ्चालकले शैक्षिक गतिविधि सञ्चालनमा सहयोग गरिदिन अभिभावकलाई अनुरोध गरेका छन् । उनीहरुले कोभिड १९ को त्रासका कारण लामो समय स्कुल बन्द रहँदा शैक्षिक सत्र नै खेर जाने र विद्यार्थीको शैक्षिक भविष्यसमेत संकटमा पर्नसक्नेतर्फ चिन्ता व्यक्त गरेका छन् ।
नीजि विद्यालय सञ्चालकको संस्था प्याब्सन र एन प्याब्सनले आइतबार संयुक्त विज्ञप्ति जारी गरेर नानी बाबुको अभिलेख प्रमाणित गर्न तथा सम्भव भएसम्म बाँकी रहेको र नयाँ शैक्षिक सत्रको शुल्क बुझाइदिन उनीहरुले अनुरोध गरेका छन् । लामो समयसम्म स्कुल बन्द रहँदा ती स्कुलमा कार्यरत दुई लाखभन्दा बढी शिक्षक कर्मचारीलाई तलव खुवाउन समस्या भएको, भाडामा सञ्चालित विद्यालयले घरबेटीलाई पैसा दिन नसकेको तथा बैंकको किस्तासमेत बुझाउन कठिन भएको उनीहरुले गुनासो गरेका छन् । सरकारले बजेटमार्फत पर्यटन, उद्योग, होटल, यातायात लगायतका क्षेत्रलाई लक्षित गरेर राहत प्याकेज ल्याए पनि नीजि विद्यालयलाई भने बेवास्ता गरेकोमा उनीहरुले विज्ञप्तिमार्फत दुखेसो पोखेका छन् ।
प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘बालबालिकाको शैक्षिक भविष्य सुनिश्चित गर्न र विद्यालयको शैक्षिक कार्यक्रम निरन्तरताको लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा सरोकारवाला समूदायलाई सहयोग पुर्‍याइदिनु  हार्दिक अपिल गर्दछौं ।’ 
लकडाउन र कोभिड १९ को त्रासका कारण विद्यार्थीको पढाइमा पुगेको बाधा फुकाउन आफूहरु अधिकतम प्रयासरत रहेको पनि उनीहरुले बताएका छन् । उनीहरुले असार १ गतेबाटै वैकल्पिक माध्यम (रेडियो, टीभी, अनलाइन लगायत) बाट पढाइ सुरु गरिसकेको जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation