देशका ७५ जिल्लामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या २३ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । आइतबार ४ सय २१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय २० महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन् ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गुल्मीमा एकजनाको कोरोनाबाट मृत्यु भएको बताए । असार ५ गते मृत्यु भएका गुल्मी छत्राकोट ५ का ६९ वर्षका पुरुषको मृत्यु भएको हो । लकडाउनकै समयमा उपचारका लागि भारत गएका ति पुरुष प्यारालाइसिसका विरामी थिए । असार ५ गते नमुना संकलन गरी प्रदेश प्रयोगशाला भैरहवामा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालाबाट ६ हजार ८ जनासँगै आइतबारसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १ सय ७३ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख ६२ हजार १ सय ७४ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ जना रहेका छन् । देशका विभिन्न अस्पतालमा ७ हजार २ सय ३१ जना उपचाररत रहेका छन् । कोरोना निको भएर घर फर्किनेहरुको संख्या १ हजार ७ सय ७२ पुगेको छ । मृत्यु हुनेको संख्या २३ पुगेको छ भने ७५ जिल्लामा संक्रमित देखिएका छन् । अब कोरोना नदेखिएका २ जिल्लामा रसुवा र ओखलढुंगा मात्र बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation