आलोचनापछि शीतल निवासमा रात्रीभोज स्थगित : चिया र विस्कुट खाएर निस्के नेताहरु

काठमान्डाै– चौतर्फी आलोचना भएपछि शीतल निवासमा रात्रीभोज एकाएक स्थगित भएको छ । डिनर सहितको राजनीतिक भेला भनिएता पनि नेताहरुले चिया र विस्कुट खाएर निस्केका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट सर्वसम्मत देशको नयाँ नक्सा पारित गरेकोमा दलहरुको प्रशंसा गरेकी छन् । उनले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नक्सा संसदबाट सर्वसम्मत अनुमोदन गरेको भन्दै दलका नेताहरुलाई बधाई र धन्यवाद दिइन ।
बुधबार साँझ संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताहरु, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरुलाई शीतल निवासमा बोलाएर राष्ट्रपतिले नक्सा अनुमोदनको खुशी व्यक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नयाँ नक्सा अनुमोदनमा दलहरुले देखाएको अभूतपूर्व एकताप्रति आफू खुशी रहेको भन्दै नेताहरुलाई धन्यवाद दिइन । साथै कोरोना भाइरसको महामारीविरुद्ध पनि सबै दलहरुबीच एकता नै देखिएको भन्दै राष्ट्रपति भण्डारीले आगामी दिनमा पनि यस्तै एकता कायम गर्न सुझाएको एक नेताले जानकारी दिए । नेताहरुले एक एक कप चिया र बिस्कुट खाएर निस्केको उक्त नेताले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation