थप ४३४ जना कोरोना संक्रमण, संक्रमितको संख्या ११ हजार नाग्याे, २ को मृत्यु, निकाे हुनेकाे संख्या २ हजार ६५० पुग्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा दुई महिला र दुई पुरुष, भक्तपुरमा एक महिला र तीन पुरुष तथा ललितपुरमा एक पुरुषमा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै पाल्पामा १२२ जना संक्रमित थपिएका छन् । यस्तै, कञ्चनपुरका ६० जना, रौतहटका ३८, दैलेखका १९, बझाङका १८, अछाम र सुर्खेत १३/१३ जना र डडेलधुराका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, तनहुँ र धनुषाका ९/९ जना, बाजुरा र सप्तरीका ८/८ जना, प्युठान र रुपन्देही ७/७ जना, सुनसरी, बर्दिया र म्याग्दीका ६/६ जना, सर्लाही, महोत्तरी र नवलपरासीका ५/५ जना, बैतडी, कैलाली, कालीकोट, बाँके, नवलपरासी र ताप्लेजुङका ३/३ जना तथा सिराहा, इलाम, जुम्ला, लमजुङ, रामेछाप, धादिङ, गोरखा र बाग्लुङका २/२ मा संक्रमण पुष्टि भएको छ ।यसैगरी बाँके, दार्चुला, खोटाङ, जुम्ला, ओखलढुङ्गा, कास्की, सल्यान, झापा, मोरङ, बारा, डोल्पा, दाङ, गुल्मी, स्याङ्जा र रुकुमपूर्वका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यससँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारीका ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएको हो । मधुमेहका बिरामी समेत रहेका उनी ८ असारमा अस्पताल भर्ना भएका थिए । यस्तै, पाटन अस्पतालमा उपचारका क्रममा ५० बर्षका पुरुषकाे पनि मृत्यु भएको छ । करिब ५ महिना अगाडि मिर्गौला प्रत्यारोपण गरेका उनी नर्भिक अस्पताल पुगेका थिए । कोरोना पुष्टि भएपछि पाटन रिफर भएका थिए ।उनको उपचारकै क्रममा बिहीबार बिहान निधन भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरबाट ३१२ जना डिस्चार्ज भएका छन् । यससँगै अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६५० पुगेको छ । साथै, देशभरका क्वारेन्टिनमा ७४ हजार २२ जना रहेको मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation