राजु सदाको मृत्युले देखाएको कोरोना नियन्त्रणको अस्तव्यस्त तस्बिर

जनकपुर प्रादेशिक अस्पतालमा धनुषाका १६ वर्षीय किशोर राजु सदाको मृत्यु भएपछि क्वारेन्टिनको भद्रगोल र अस्पतालको लापरबाहीले उनको ज्यान गएको भन्दै आलोचना भइरहेको छ।  भारतबाट जेठ १४ गते घर फर्किएका राजुले ज्यान गुमाउनुमा क्वारेन्टिनको भद्रगोल, अस्पतालको कमजोरीसँगै अविश्वनीय र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)ले मुख्य भूमिका खेलेको देखिन्छ। भारतको मदरासबाट अनेक हण्डरठक्कर खाएर आएका राजुलाई हंसपुर नगरपालिका-७ को क्वारेन्टिनमा राखिएको थियो। क्वारेन्टिनमा बसेको १० दिनपछि राजुलगायतको आरडिटी परीक्षण गरियो। आरडिटीमा राजुको रिपोर्ट पोजेटिभ आएको थियो। एक-दुई दिनपछि उनले आफूलाई सन्चो नभएको बताए।
आरडिटी रिपोर्ट पोजेटिभ आएको मान्छे बिरामी परेपछि नगरपालिकाका स्वास्थ्यकर्मीले उनलाई के भएको हो भनेर जाँच्ने जोखिम लिएनन्। हंसपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बुधेश्वर यादवले जनकपुरमै राम्रो उपचार हुने भनेर उनलाई पठाइएको बताए।  ‘बाहिरबाट आएकाहरुलाई क्वारेन्टिनमा राख्ने नियमअनुसार नै उनलाई पनि त्यहाँ राखिएको थियो, बिरामी भएपछि यहाँभन्दा राम्रो उपचार जनकपुरमा हुने सोचेर हामीले उनलाई रिफर गरेका हौं,’ यादवले भने।नगरपालिकाले उनलाई रिफर त गर्‍यो तर उनको बिरामी अवस्थाको अलिकति पनि ख्याल गरेन। क्वारेन्टिनमा कोही बिरामी परे अस्पताल लैजाने एम्बुलेन्स हुनुपर्ने स्वास्थ्य मन्त्रालयको निर्देशिकामा उल्लेख छ।हंसपुर नगरपालिकाले भने बिरामले छटपटाइरहेका राजुलाई अस्पताल लैजाने एउटा एम्बुलेन्स पाएन। उपप्रमुख रेणु झाले एम्बुलेन्सवालाहरूले बिरामी बोक्न नमानेपछि टिपरमा पठाउनु परेको बताइन्।  

सेताेपाटीबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation