कपिलवस्तु, केही दिन यता स्वाथ्य कार्यालय कपिलवस्तुले जिल्लामा समुदाय स्तरमा कोरोना छ वा छैन भनेर अध्ययन गर्नको लागि समुदायमा गरेको पि.सि.आर. परिक्षणको नतिजामा समुदाय स्तरमा कोरोना संक्रमण पुगेको पुष्टि भएको छ । आज मंगलबार आएको नतिजामा जिल्लाको कृष्णनगर नगरपालिकाका समुदायमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । स्वास्थ्य कार्यालय कपिलवस्तुले समुदायमा कोरोना जाँच गर्ने क्रममा ५ जनामा कोरोना पोजेटिभ भएको पुष्टि भएको छ । संक्र्रमित मध्ये १ जना एभरेस्ट बैङ्कका कर्मचारी, १ जना स्थानीय व्यापारी, १ जना शिक्षक र २ जना विद्यार्थीमा रहेका छन् । जिल्लामा कुल ८०६ जनामा कोरोना देखिएको छ । कुल संक्रमित मध्ये ७ सय ३९ जना भारतबाट, २० जना अन्य मूलकबाट र ४७ जना स्थानीय रहेका छन् ।
कृष्णनगरमा १३३ जनाको नमुना सङ्कलन गरिएको थियो । ती नमुना लुम्बिनी प्रादेशिक अस्पतालमा जाँच गरिएको थियो । समुदायका कोरोना फैलिएको जाँच गर्नका लागी जिल्लाका ६ पालिकाबाट ३२० नमुना सङ्कलन गरिएको थियो । ४ स्थानीय तहका ५८ जना संक्रमित उपचारका लागी आइसोलेसन भर्ना भएका जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताउनु भयो । पिसीआर परीक्षणको लागि पठाईएको ५ सय ७ को नतिजा आउन वाँकी रहेको छ । यस संगै कपिलवस्तुमा हालसम्म कोरोना संक्रमितको सख्या ८ सय ६ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।