राम मन्दिर शिलान्यास : जनकपुरको माटो र चाँदीका इँटा बोकेर नेपाली टोली अयोध्या प्रस्थान

जनकपुरधाम- भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा बुधबार हुन लागेको राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन जनकपुरधामबाट नेपाली टोली चाँदीका इँटा बोकेर त्यसतर्फ प्रस्थान गरेको छ ।जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामतपेश्वर दास जनकपुरको माटो र चाँदीका इँटा लिएर मंगलबार भारतको अयोध्या प्रस्थान गरेका हुन् । अयोध्या प्रस्थान गर्नुअघि महन्त दासले भगवान रामको मन्दिर शिलान्यासका लागि रामको ससुराली जनकपुरधामबाट चाँदीका ५ वटा इँटा र जनकपुरधामको माटो प्रदान गरिने बताए । एक किलो चाँदी बराबर एउटा इँटा तयार पारिएको उनले जानकारी दिए ।
भगवान रामको मन्दिर निर्माणका लागि हुने भूमिपूजामा सहभागी हुन महन्त दासलाई अयोध्याबाट निम्तो आएको थियो । दास नेतृत्वको टोली प्रशासनको अनुमति लिएर जटही नाकाबाट भारत प्रवेश गरेको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समयअनुसार बुधबार दिउँसो एक बजे अयोध्यामा भगवान रामको मन्दिर शिलान्यास गर्ने कार्यक्रम छ । गत वर्ष कात्तिक महिनामा भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित जग्गा राम मन्दिरको भएको फैसला गरेको थियो । मुस्लिम समुदायले सो जग्गा बाबरी मस्जिदको हुनुपर्ने दाबी गर्दै आएका थिए ।

साभार अनलाइनखबर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation