काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण नेपालको भूमि मिचिएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा गृहमन्त्री थापाले सीमामा रहेका पिलरहरु उखेलेर फालिदिने, नेपालभित्र गाडिदिने प्रवृत्ति छिमेकीहरुको रहेको बताए । यो प्रवृत्ति नहट्दासम्म सीमा समस्या रहिरहने पनि मन्त्री थापाले बताए ।
नेपालको भूभाग र सीमा रक्षा गर्ने जिम्मा गृह मन्त्रालयको भएकाले विशेष ध्यान दिने उल्लेख गर्दै उनले सीमा विवाद समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने बताए । गृह मन्त्रालयले सीमा सुरक्षासम्बन्धी विशेष योजना बनाएको जानकारी दिँदै उनले त्यसको कार्यान्वयनमा जनस्तरबाट समेत सहयोग हुनुपर्ने बताए ।