प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज फोनवार्ता हुने

काठमाडौं– नेपाल र भारतका प्रधानमन्त्रीबीच आज फोनवार्ता हुने भएको छ । भारतको स्वतन्त्रता दिवसको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गर्ने भएका हुन् ।
सीमा विवादले शीतयुद्धको स्थितिमा पुगेको नेपाल–भारत सम्बन्धमा ब्रेक लाग्ने सम्भावना देखिएको बताइएको छ । प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको शुभकामना दिने र पारस्परिक हितका विषयमा छलफल गर्ने तयारी गरेका बालुवाटार स्रोतले जनाएको छ । पछिल्लो समय भारतीय राजदूतमार्फत प्रधानमन्त्री ओलीले भारतसँग अनौपचारिक संवाद थालेका छन् । अनौपचारिक संवाद स्वरुप नेपाल र भारतबीच जारी सीमा विवाद समाधानका लागि दुई देशका परराष्ट्र मन्त्रालयस्तरीय वार्ता पनि हुने भएको छ । 
दुई देशबीचको वार्ता नेपालको राजधानी काठमाडौंमा भदौ १ गते हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् । नेपाल–भारत परराष्ट्र मन्त्रालयस्तरीय वार्तामा नेपालका परराष्ट्र सचिव शंकरदास वैरागी र भारतको तर्फबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा सहभागी हुनेछन् ।
दुई देशका परराष्ट्र मन्त्रालयस्तरीय वार्तामा आर्थिक तथा विकासको एजेण्डालाई समावेश गरिँदै आइएको छ । तर, यसपटकको मुख्य एजेण्डा भने सीमा विवाद रहेको छ । नियमित एजेण्डामा छलफल गर्नेगरी सन् २०१६ देखि यस्तो वार्ता हुँदै आएको थियो ।नेपाल सरकारको परराष्ट्र मन्त्रालयले भने यो विषयमा कुनै पनि प्रतिक्रिया दिएको छैन । तर, परराष्ट्र मन्त्रालयको उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको अनौपचारिक छलफल भए अनुसार भदौ १ गते वार्ता हुन लागेको हो ।
भारतीय सञ्चारमाध्यमले पनि नेपाल र भारतबीच भदौ १ गते वार्ता हुने दाबी गर्दै समाचार सार्वजनिक गरेका छन् । नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि दुई देशबीच संवादहीनताको अवस्था थियो । भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि भारत असन्तुष्ट छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation