बसन्त बन्जाडे,
कपिलवस्तु-शाक्यमुनि युवराज सिद्धार्थ गौत्तमले ज्ञानको खोजीमा २६१५ औं वर्ष अघि दरबार त्याग गरी निस्केको स्मरण गर्दै शनिबार राती कपिलवस्तु दरवारमा महाअभिनिष्कर्मण उत्सव मनाइएको छ ।
राजा शुद्धोधनको दरबारमा आफ्नो जिवनकालको २९ बर्ष विताएर राजसी सुख त्यागेर ज्ञानको खोजीमा निस्केको स्मरणमा उत्सव मनाईएको हो । मध्य रात्री १२ बजेको समयमा मनाइएको महाअभिनिष्कर्मण उत्सवमा राजकुमार सिद्धार्थलाई मनपर्ने कन्थक घोडाको स्मरण गर्दै सेतो घोडामा राजकुमार सिद्धार्थको भेषमा कपिलवस्तु नगरपालिका १ का स्थानीय युवा सिद्धार्थ शाक्यले राजकुमार सिद्धार्थको अभिनयमा दरवार त्याग गरेका थिए ।
यो उत्सव अषाढ पूर्णिमामा मनाउने गरिएको भएपनि कोरोना महामारी, लकडाउनका कारण संभव नभएपछि विश्व पर्यटन दिवसको अवसरमा शनिबार मध्य रातमा शुभमुर्हतमा क्षमायातना गरि मनाइएको हो ।
कार्यक्रमले सिद्धार्थ गौत्तमले २९ बर्ष बिताएका कपिलवस्तु दरबार महत्वलाई विश्वसामु उजागर गर्न महत्वपुर्ण भूमिका निर्बाह गर्ने, बुद्धको जीवनमा महान त्यागको महत्वलाई उजागर गर्नु, बौद्ध सर्किटको नयाँ गन्तव्यको रुपमा प्रचारप्रसार गर्नु, विश्व पर्यटन दिवस मनाउनु रहेको लुम्बिनी विकास कोषका तौलिहवा सम्पर्क कार्यालयका प्रमुख माधव आचार्यले बताए ।
बुद्धको जीवनका ४ महत्वपूर्ण घटनाहरु जस्तै दरबारको सुख सयलको जिवन त्याग गर्नु महान त्यागले उनको जीवनमा महत्वपूर्ण स्थान ओगटेको छ । यस्ले नै बुद्धत्व प्राप्ती र सत्यको खोजीको सुरुवात गरेको थियो । कार्यक्रममले कपिलवस्तु क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा प्रचारप्रसार गर्न सघाउ पुग्ने लुम्बिनी विकास कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले बताए । लुम्विनी विकास कोषको वार्षिक कार्यक्रममा समेत महाअभिनिष्कर्मणको दिनलाई एउटा उत्सवको रुपमा राखी यस दिनको महत्वलाई उजागर गरिने कोषका सदस्य ज्ञवालीले बताए ।

तिलौराकोटलाई बर्षौ देखी वेवस्था गर्दा लुम्बिनीमा लाखौ पर्यटकहरु भित्रदा पनि प्राचिन कपिलवस्तु ओजेलमा परेको सदभावना राजदुत बिक्रम पांडेकाजीले बताए । यसले समग्र प्राचिन कपिलवस्तुका साथै तिलौराकोटमा पर्यटकहरु आर्कषण बढाउने र लुम्बिनी क्षेत्रमा पर्यटकहरुको बसाई लम्बाउन भूमिका खेल्ने पांडेले बताए । यस्ता कार्यक्रमहरुले आगामी दिन प्राचीन कपिलवस्तु दरवारलाई पनि उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।