सत्तारूढ दल नेपाल कम्युनि पार्टी नेकपाका दुबै अध्यक्षको सहमति पछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो। प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको एक मन्त्रीले सेतोपाटीलाई बताए। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले गरेको उक्त निर्णयलाई भने सार्वजनिक गरिएको छैन।
राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन। रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभा मतभेद थियो। प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए।
नेकपा संसदीय दल प्रदेश ५ का सचिव भोजप्रसाद श्रेष्ठले राजधानी र नामाकरणसम्बन्धी छलफल संसदमा सुरू भएको बताए।शीर्ष तहमा निर्णय भइसकेकाले प्रदेश संसदीय दलले पनि प्रस्ताव पारित गर्न लागेको श्रेष्ठले बताए। शुक्रबारको प्रदेश सभामा नाम र राजधानीबारे प्रस्ताव पेस भइसकेको छ।
राजधानी र नामांकरणका लागि दुई तिहाई मत चाहिन्छ। प्रदेश सभामा नेकपाको दुईतिहाई मत रहेको र केन्द्रबाटै ह्विप जारी भएकोले राजधानीको विषयमा मत पूरा हुने देखिएको छ। यसअघि राजधानीका विषयमा सांसदहरू विभाजित थिए। नेकपा संसदीय दलले शनिबार बिहान ८ बजे बैठक बसेर राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गर्नेछ।