कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट लागु पदार्थ (ब्राउनसुगर) सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । वडा नम्बर ४ होराइजनचोकस्थित एक घरबाट लागु औषध कारोबार गरिरहेको अवस्थामा वडा नम्बर ३ ठाँटीका ३१ बर्षका रिषी थारुलाई रंगे हात पक्राऊ गरिएको हो ।गोप्य सूचनाको आधारमा अनुसन्धानमा गएको इलाका प्रहरी कार्यालय पिपराको टोलीले विहिबार साँझ करिब ६ बजेको समयमा थारुलाई १ ग्राम ९५ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरी निरिक्षक( इन्सपेक्टर) दिनेश गुरुङले बताउनु भयो ।थारु स्थानीय रिना सेनको घरमा काम गर्ने बाहानामा बसेको र लागु औषधको कारोबारमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको गुरुङले बताउनु भयो । लागु औषध कारोवारमा रिना सेन पनि संलग्न रहेको हुन सक्ने प्रहरीले बताएको छ । उनकै संरक्षणमा त्यहाँ यस्तो अपराध भएको प्रहरी बताउँछ ।गुरुङका अनुसार स्थानीयको गोप्य सूचनाको आधारमा सो क्षेत्रमा दिनभर अनुसन्धान गरिएको थियो । त्यसपछि एक घरमा लागु औषधको कारोबार नै हुने गरेको पत्ता लगायौँ गुरुङले भन्नुभयो ‘एक जनालाई रंगे हात समातेपछि कारोबार हुने प्रमाणित भयो ।
कोरोबारीमध्ये एक जनाले दिउसै घरको बाहिरी झ्यालबाट लागु पदार्थ सप्लाई गर्ने गरेको पनि प्रहरीले बताएको छ । त्यो देखेपछि प्रहरीले सो घरमा खान तलासी पनि गरेको थियो । उक्त घरमा पटकपटक यस्तो घटना घट्ने गरेको छ । स्थानीयबासीले पनि उनकै संरक्षणमा त्यहाँ लागु पदार्थको कारोबार हुने गरेको छ । नाम नभन्ने शर्तमा एक जनाले गाउँका युवायुवतीले पनि त्यहाँबाट लागु औषध किनेर प्रयोग गर्ने गरेको मायादेवीसंग बताए ।नियन्त्रणमा लिइएका थारुमाथि थप अनुसन्धान भई लागु पदार्थ ओसार पसार तथा नियन्त्रण ऐन अनुसार कारबाही हुने पनि प्रहरीले जनाएको छ । केही दिन अघि पनि प्रहरीले वडा नम्बर ८ बोडगाउँबाट २ जनालाई ब्राउनसुगरसहित पक्राऊ गरिएको थियो ।बाणगंगामा लागु औषधको खुलेआम कारोबार हुने गरेको स्थानीयबाट सूचना आइरहेकाले यसमा प्रहरी चनाखो रहेको गुरुङले बताउनु भयो । लागु औषध कारोबार तथा प्रयोग अपराधहरुको जननी भएकाले क्षम्य हुन नसक्ने पनि उहाँको भनाई छ । यसको जालो तोड्न आफूले पुरै शक्ति प्रयोग गर्ने पनि उहाँले बताउनु भयो । गुरुङले यस्तो अपराधमा सामाजिक संरक्षण झनै ठुलो अपराध हुने बताउनु भयो ।