नेकपा विभाजित भएपछि दुवै समूह ओली समूह र प्रचण्ड–नेपाल समूह आआफ्नो समूहको शक्ति प्रदर्शनमा लागिरहेका छन् । यहीबीच ओली समूहका कार्यकर्ताहरुले शनिबार काठमाडौंमा ओलीलाई समर्थन गर्न र्याली निकालेका छन् । र्यालीमा उनीहरुले ओलीलाई हिरो भएको, अहिले नेपालभर निर्वाचनको माहोल भएको र आफूहरु साइबर सेना भएको बताएका छन् । शनिबार दिउँसो निकालिएको जुलुसमा उनीहरुले लगाएका नारामध्ये एक हो, बोली अलि पीरो हो, केपी ओली हिरो हो । त्यस्तै उनीहरुले आफूहरु केपी ओलीको साइबर सेना भएको पनि बताएका छन् ।
यो र्याली आज कमलादीमा पुगेर कोणसभामा परिणत हुने बताइएको छ । कमलादीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभालाई सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।











