कोरोना संक्रमणः मृतकको संख्या ३१ हजार नजिक, अमेरिकामा थपिए १९ हजार नयाँ संक्रमित

काठमाडौं ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ हजार नजिक पुगेको छ ।
गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर ३५ सय ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यो एकैदिन मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो ।
यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभर ३० हजार आठ सय ४७ पुगेको वल्डओमिटरमा उल्लेख छ । यो तथ्यांक आइतबार बिहान पौने ६ बजेसम्मको हो ।
कोरोना भाइसबाट विश्वभर हालसम्म ६ लाख ६२ हजार नौ सय ६७ जना संक्रमित भएका छन् । शनिबार एकै दिन विश्वभर ६६ हजार चार सय नौ जना कोरोनाका नयाँ संक्रमित देखिएका छन् ।
अहिलेसम्म संक्रमित मध्ये १ लाख ४१ हजार नौ सय ५१ जना उपचारपछि पूर्ण रुपमा निको भएका छन् ।
अमेरिकामा शनिबार एकैदिन कोरोना संक्रमणबाट पाँच सय १५ जनाको मृत्यु भएको छ। शुक्रबार त्यहाँ ३ सय ९८ जनाको मृत्यु भएको थियो ।
अमेरिकामा दिनहुँ कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२ सय ११ पुगेको छ ।
त्यहाँ शनिबार एकै दिन १९ हजार २ सय २५ जना नयाँ संक्रमित फेला परेका छन्। कोरोना संक्रमणले त्यहाँको अवस्था भयावह बन्दै गएको छ ।
गएको २४ घन्टामा सबैभन्दा बढी इटालीमा आठ सय ८९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ हिजो एकै दिन ५ हजार नौ सय ७४ जना नयाँ संक्रमित थपिएका छन् । इटालीपछि शनिबार स्पेनमा धेरैले ज्यान गुमाएका छन् ।
यसको संक्रमणबाट त्यहाँ गएको २४ घन्टामा आठ सय ४४ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म त्यहाँ यसको संक्रमणबाट पाँच हजार नौ सय ८२ जनाको मृत्यु भइसकेको छ ।
चीनमा शुक्रबार कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म ८१ हजार चार सय ३९ जना संक्रमित भएका छन् ।
त्यसैगरी शनिबार फ्रान्समा ३ सय १९ जना, युकेमा २ सय ६०, इरानमा १३९, जर्मनीमा ८२, नेदरल्यान्डमा ९३, बेल्जियममा ६४, स्वीटजरल्यान्डमा ३३ जनाको कोरोना भइरस संक्रमणबाट मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation