लुम्विनी प्रदेश : ३ पाइला पछि १ एक पाइला अघि

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ३ पाइला पछि एक पाइला अघिको सिद्धान्त ल्याउनु भएको छ। यसको अर्थ ३ पाइला पछि फर्केर एक पाइला अघि वढ्ने भन्ने होइन । पछिल्ला ३ पाइलाको नतिजा हेर्ने र अघिल्लो एक पाइलाको योजना तय गर्ने निर्देशन दिदै यस्तो वताउनु भएको हो । 

उहाले अव प्रदेश विकासका  योजना बनाउदा तीनपाइला नियाल्न आग्रह  गर्नु भएको हो । उहाले तीनवर्षलाई तीन महत्वपूर्ण पाइलाको रुपमा हेरेर चौथो र पाँचौ पाइलामा कहा पुग्ने निश्चित गरेर योजना वनाउन आग्रह गर्नु भएको छ ।मुख्यमन्त्री पोखरेलले विगत तीन वर्षका कामको मूल्यांकन  र अनुभवलाई केन्द्रमा राखेर प्रदेशका योजना बनाउन निर्देशन दिनुभएको हो ।

    आईतवार रुपन्देहीको मणिग्राममा आयोजित प्रदेश समन्वय परिषदको चौथो बैठकलाई सम्बोधन गदै मुख्यमन्त्री पोखरेलले परिषद सदस्यको भूमिका परिवर्तन भएको छ भन्दै अब परिषद सदस्यले पूरै प्रदेशको विकासका सवालमा चिन्तन गर्नुपर्ने बताउनु भयो ।यसअघि स्थानीय तहका जनप्रतिनिधीले आफ्नो पालिकाको मात्रै चिन्तन गर्नुपर्नेमा अब पूरै प्रदेशको चिन्तन गर्नुपर्ने गरि मन्त्री परिषद कार्यबिधी पारित गरेकोले स्थानीय तहले पनि प्रदेशको चिन्तन गर्नुपर्ने मुख्यमन्त्री पोखरेलको भनाई थियो ।

    मुलुकका सात प्रदेशमध्ये लुम्बिनी प्रदेश साझेदारी कार्यक्रममा नमूना प्रदेश भएको दावी गदै मुख्यमन्त्री पोखरेलले सशर्त,विशेष अनुदान र मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । प्रदेशको राजधानी तोक्ने सवालमा प्रदेश सभाले गरेको निर्णय सहि भएको भन्दै उहाँले राजधानीलाई गौरव गर्न लायक बनाउने तर्फ पूर्वाधार विकास कार्यालयलाई सचेत गराउनु भयो ।नदी सभ्यतालाई आधार बनाएर राजधानी तय गरिएकाले पनि प्रदेशको राजधानी मुलुककै उत्कृष्ट र नमूना हुने उहाँको दाबी छ ।

 जिल्ला समन्वय समितिको अन्यौलताको अन्त्य भएकाले अब समितिले जिल्ला जिल्लामा अनुगमनको काम प्रभावकारी रुपमा गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।मन्त्रालयका सचिव डा. खगेन्द्रप्रसाद सुवेदीले स्थानीय तह र प्रदेशको विकासका सवालमा महत्वपूर्ण मानिने परिषद बैठकले आवधिक योजना छनोटमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सचिव सुवेदीले सहलगानी सम्बन्धमा छलफल गरि प्रदेशमा रोजगारी अभिवृद्धि र राजस्व असूलीलाई थप प्रभावकारी वनाउन जरुरी रहेको बताउनु भयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation