कपिलवस्तु उद्योग बाणिज्य संघको आगामी नेतृत्वको लागि सहमतिको सम्भावना लगभग् टरेको छ । मंगलबार नेकपा र नेपाली काँग्रेसले आधा घण्टाको अन्तरमा आआफ्नो प्यानलको नाम सार्वजनिक गरेपछि सहमतिको वातावरण लगभग् सकिएको हो ।
काँग्रेसले मंगलबार दिउसो साढे ३ बजे चार नम्बरको होटल एडीमा पत्रकार सम्मेलन गरी प्यानल सार्वजनिक गरी दिएको अभिव्यक्ति र नेकपाले ४ बजे पीस हिमालय रिसोर्टमा उम्मेदवारी सार्वजनिक गर्दा दिएको प्रतिक्रियाले सहमतिको वातावरण विग्रेर परिस्थिति चुनावमय भएको सजिलै बुझ्न सकिन्छ । संघको आगामी ३ बर्षे कार्यकालको लागि अध्यक्षमा नेकपाबाट टोप नारायण बेलबासेको उम्मेदवारी छ ।
संघको १४ औँ बार्षिक साधारण तथा सातौँ अधिवेशन मिति माघ २३ र २४ गते आउन अब ३ दिन मात्र बाँकी छ । यो बीचमा दुवै पक्षको उम्मेदवारी घोषणा हुनु र अध्यक्षको दौडबाट बेलबासे र घिमिरे पछि नहट्नुले संघमा अब चुनाव हुने पक्का देखिन्छ । सहमतिको सम्भावना टर्नुमा एकले अर्कोलाई आरोप लगाएका छन् ।
नेकपाबाट अध्यक्षको उम्मेदवार बन्नु भएका टोप नारायण बेलबासेले काँग्रेसले सहमतिको वातावरण विगारेको बताउनु भयो । सहमतिको सम्भावना हुँदाहुँदै पनि एकाएक काँग्रेसले प्यानल सार्वजनिक गरेपछि सहमतिको प्रयास विग्रन पुगेको उहाँको प्रष्टोक्ति छ । संघमा अब सहमतिको सम्भावना टरेकै हो त ? भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो ‘हामी सहमतिको पक्षमै थियौँ । उहाँहरुले एउटा होटलमा बसेर प्यानल सार्वजनिक गर्नुभएछ । त्यसपछि हामी पनि बाध्य भएर प्यानल सार्वजनिक गर्न बाध्य भयौँ । अब भन्नुहोस् सहमतिको वातावरण कसले विगार्यो ?’
संघमा आलोपालो भन्ने नहुने र सक्षम नेतृत्व जानु पर्ने उहाको भनाई छ । “हिजोको दिनमा पनि आलोपालो थिएन । जो सक्षम छ । त्यसले नेतृत्व लियो । उमानाथ जि पनि सक्षम भएकै कारण काँग्रेसले सहमति गरेको हो । त्यो सक्षमता अहिले मसंग छ । मलाई साथीहरुले अध्यक्ष बन्न भन्नु भएको छ । र पालो पनि स्वभाविक रुपमा मेरै हो । त्यसैले अध्यक्षको दौडबाट म पछि हट्दिनँ ।” उहाँले थप्नु भयो । उहाँले वरिष्ठ उपाध्यक्ष, महासचिव लगायतका पदमा आफ्नो प्यानलकै जित हुने पनि दाबी गर्नुभएको छ । नेकपाले वरिष्ठ उपाध्यक्षमा छवि रेश्मीलाई अगाडी सारेको छ । यस्तै उद्योग उपाध्यक्षमा कृष्ण सापकोटा, वाणिज्य उपाध्यक्षमा कृष्ण प्रसाद गैरे, एसोसिएट उपाध्यक्षमा विरेन्द्र खाँण, वस्तुगत उपाध्यक्षमा बाबुराम पाण्डेको उमेद्धवारी परेको छ ।
यसैगरी महासचिवमा कुसल पौडेल, सचिवमा खुमानन्द पौडेल, कोषाध्यक्षमा मनोहर योगी, सह कोषाध्यक्षमा ओम बहादुर केसीको उमेद्धवारी पर्दा महिला सदस्यमा शान्ती क्षेत्री र गतिा पौडेल उठ्नु भएको छ ।
यता पत्रकार सम्मेलनमा काँग्रेसका तर्फबाट अध्यक्षमा उठ्नु भएका डोलकराम घिमिरेले पूर्ववत् सहमति नेकपाले उलंघन गरेको आरोप लगाउनु भयो । एक हातले मात्र ताली बज्न नसक्ने भन्दै उहाँले आफ्नो उम्मेदवारी कुनै पनि हालतमा फिर्ता नहुने पनि प्रष्ट्याउनु भयो । विगतमा पनि आफूहरुले सहमति गरेर नेकपालाई नेतृत्व दिएको भन्दै यसपटक पालो काँग्रेसकै रहेको उहाँले बताउनु भयो । तर यसमा नेकपाले बेइमानी घिमिरेको आरोप छ ।
उहाँले भन्नुभयो ‘हामीले सहमति हुन्छ भन्ने ठानेका थियौँ । उहाँहरुले मान्नु भएन । अब छिनोफानो चुनावबाट हुन्छ । र चुनावपछि मैले १ हजार बढी मत लिएर उहाँहरुलाई पराजित गर्दछु ।’
उहाँले आफूलाई नेतृत्व दिए अरु पदमा नेकपासंग थप सहमति गर्न सकिने पनि बताउनु भयो । चुनाव भए पनि आफ्नो प्यानलले सजिलै जित हासिल गर्ने उहाँको भनाई छ । ‘सफल सबल ब्यावसायिकतामा योगदान, समृद्ध नगर निर्माणमा हाम्रो अभियान’ भन्ने नारासहित आफूहरु चुनावमा होमिएकाले विजयी बनाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
पूर्व अध्यक्ष विष्णु न्यौपानले सहमतिको प्रयास अन्तिम सम्म हुने बताउनु भएको छ । पत्रकार समेलनको संयोजकत्व ग्रहण गर्दै उहाँले अन्तिममा सहमतिको प्रयास हुने र नेकपा सहमतिमा नआए चुनावले नेतृत्व छिनोफानो गर्ने उहाँले बताउनु भयो ।
काँग्रेसले वरिष्ठ उपाध्यक्षमा लक्ष्मण अधिकारी, उद्योग उपाध्यक्षमा तुल्सीराम घिमिरे, बाणिज्य उपाध्यक्षमा खुमानन्द घिमिरे लाई उठाउने निणर्य गरेको छ । यस्तै महासचिवमा मनोज पौडेल, कोषाध्यक्षमा बिनोद पन्त, सचिवमा शंकर प्रसाद न्यौपाने, सह कोषाध्यक्षमा सेराज अहमद, महिला उपाध्यक्षमा इन्दिरा तिमिल्सीनालाई उमेद्धवार उठाउने निणर्य गरेको छ । यस्तै महिला सदस्यमा लक्ष्मी थारु र मिना पौडेल पोखरेललाई उठाउने निणर्य गरेको जनाइएको छ ।
यसैगरी एसोसेट उपाध्यक्षमा टोपनारायण भण्डारी सदस्यमा लक्ष्मण भुसाल र मनोज बानिया उठ्दा वस्तुगत उपाध्यक्षमा शालिकराम भुसाल, लेखा समितिमा कृष्ण अर्याल, बसन्त खनाल र फर्सुराम पन्त चुनावी मैदान देखिनु भएको छ । यता संघका पूर्व अध्यक्ष देवी प्रसाद पाण्डेले पनि सहमतिको प्रयास जारी रहेको बताउनु भयो । हालका अध्यक्ष उमानाथ पौडेलले पनि दुवै जना संघको लागि चाहिने व्यक्ति भएकाले अन्तिममा सहमति हुने जिकिर गर्नुभएको छ ।