कपिलवस्तुमा आम हड्तालको प्रभावः यातायात चलेनन्, बजार खुलेनन्

कपिलवस्तु

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले विहीबार (आज) राखेको देशब्यापी आम हड्तालको प्रभाव कपिलवस्तुमा पनि परेको छ ।

नेकपाका नेता, कार्यकर्ता विहानै देखि जिल्लाका चोक चोकमा निस्किएपछि बन्दको प्रभाव यातायात, बजार, उद्योगधन्दा, शिक्षणसंस्था लगायतमा परेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेपछि झनै आक्रोसित बनेको नेकपा बन्द सफल बनाएर सरकारलाई दबाब दिन सडकमा उत्रिएको छ ।

बन्दको कारण जिल्लाका प्रमुख बजार सदरमुकाम तौलिहवा, चारनम्बर जीतपुर, चन्द्रौटा, कृष्णनगर लगायत सुनसान जस्तै बनेका छन् भने पूर्व पश्चिम महेन्द्र राजमार्ग विहानै देखि सुनसान जस्तै बनेको छ भने सहायक सडकरुमा पनि सवारी चलेका छैनन् ।

बन्दकर्ताले कुनै अप्रिय कदम चाल्ने सम्भावनाका कारण जिल्लाका ठाउँ ठाउँमा बाक्लै सुरक्षाकर्मी परिचालन गरिएको छ ।बुधबार जिल्ला पार्टी कार्यालय कपिलवस्तुका सचिव रामचन्द्र शाह ‘विष्णु’ले एक प्रेस विज्ञप्ति जारी गर्दै संविधान र लोकतन्त्रको रक्षाका लागि यो स्वरुपको संघर्ष गर्नुपर्ने अवस्था आएको भन्दै आम हड्तालको कार्यक्रममा सरिक हुन मातहतका सबै कमिटीलाई निर्देशन दिनुभएको थियो छ ।

आजको बन्दका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने नेकपाले जनाएको छ भने परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने छन् ।आम हड्तालको पूर्वसन्ध्यामा कपिलवस्तुका ठाउँ ठाउँमा राँके जुलुस निकालेको थियो । जिल्लाका कृष्णनगर, चन्द्रौटा, गोरुसिंगे, महाराजगञ्ज, तौलिहवा, बनगाई, पकडी, लवनी लगायतका स्थानमा नेकपा कपिलवस्तुले राँके जुलुस निकालेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation