भारतले बनायो कोरोना टेस्ट किट

२०७६ चैत १६ आइतबार

बाहिरबाट आयात गरिने टेस्ट किटलाई ४५ सय भारु पर्थ्यो भने भारतले बनाएको किटलाई भने प्रति किट १२ सय पर्छ

नयाँ दिल्ली  । भारतको पुनेस्थित प्रयोगशालाले भारतमा पहिलो कोरोना परीक्षण किट बनाइएको छ । भारतले कोरोना भाइरसको परीक्षण कम गरेको भन्दै आलोचना भइरहेका बेला भारतमै पहिलो टेस्ट किट बनाइएको हो । भारतले हालसम्म एक मिलियनमा ६.८ जनामा कोरोना परीक्षण गरिरहेको बताइएको छ । जुन अन्य देशको तुलनामा निकै कम परीक्षण हो । 

यो भारतमै बनाइएको टेस्ट किटले मुलुकको आवश्यकतालाई पूर्ती गर्ने अपेक्षा गरिएको छ । एक गर्भवती भाइरोलोजिस्टले यो किट विकासमा भारतलाई सफलता दिएकी हुन् । बच्‍चा जन्‍माउनुभन्दा केही घण्टाअघि उनले किट विकासमा सफलता मिलेको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् । 

माइल्याब अनुसन्धान र विकास प्रमुख मिनाल ढाखाभे भोस्लेले कोरोना भाइरस टेस्ट किट ‘पाथे डिटेक्ट’ छ हप्तामा विकास गरिएको बीबीसीले जनाएको इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ । 

उनले गर्भवती भएका कारण फेब्रुअरीमा घर बदा लिएको केही दिनपछि काम सुरु गरेको बताएकी छन् । टेस्ट किटको विकाससँगै एक ब‍च्चीलाई जन्म पनि दिएकी छन् । “यो आपतकालको अवस्था हो । त्यसकारण मैले यलाई चुनौतीको रुपमा लिए । मैले केवल मेरो राष्ट्रको सेवा गर्नु थियो,” उनले थपिन्, “मेरो १० जनाको टिमले यस कार्यलाई सफलतामा पुर्‍याउन निकै कडा मिहनत गरेका छन् ।”

उनले उक्त किट मार्च १८ मा नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीलाई हस्तान्तरण गरेकी छन् । 

भारतले बनाएको पहिलो टेस्ट बिहीबारदेखि बजारमा पठाइएको छ । यसले कोरोना परीक्षणमा तीव्रता प्रदान गर्ने र कोरोना संक्रमणलाई निर्मुल पार्न सहयोगी हुने अपेक्षा गरिएको छ । “हाम्रो टेस्ट किटले साढे दुई घण्टामा नतिजा प्रदान गर्नेछ । अन्य बाहिरबाट ल्याइएका टेस्ट किटहरुले नतिजा दिन ६-७ घण्टा लगाउँछन्,” भोस्लेले हिन्दुस्तान टाइम्ससँग भनिन् । 

माइल्याब डिस्कभरी सोलुसनले सोमबारदेखि वैधानिक उत्पादनको अनुमति पाएको हो । हरेक दिन १५ हजार थान टेस्ट किट उत्पादन भइरहेको बताइएको छ । यो गति बढाएर हरेक दिन २५ सय किट उत्पादन गरिने बताइएको छ । 

माइल्याबले पहिलो चरणको १५० ब्याचको टेस्ट किटहरु पुने, मुम्बइ, दिल्ली, गोवा र बैंलोर पठाइएको बताइएको छ । “यो सातादेखि हाम्रो उत्पादन सुरु भएको छ । अर्को चरणको उत्पादन सोमबार पठाइने छ,” माइल्याबका चिकित्सा मामिला निर्देशक डा. गौतम वाङ्खेडेले बीबीसीलाई बताएका छन् ।

यस कम्पनीले यसअघि एईआईभी, हेपाटाइटिस बी र सीलगायतका समेत टेस्ट किट उत्पादन गरेको थियो । एक सातमा एक लाख टेस्ट किट पठाउन सकिने र आवश्यकता बढेमा सातामा दुई लाख टेस्ट किट पनि उत्पादन गर्न सकिने बताइएको छ । 

माइल्याबले उत्पादन गरेको एक टेस्ट किटले सय नमुना परीक्षण गर्न सकिने र एउटा किटलाई १२ सय भारतीय रुपैयाँ पर्ने भएको छ । भारतले बाहिरको टेस्ट किट आयात गर्दा ४५ सय भारतीय रुपैयाँ पर्ने गरेको थियो । 

भारले यसअघि कोरोना जोखिम भएका मुलुकबाट आएकाहरुलाई र संक्रमितको सम्पर्कमा भएकाहरुलाई मात्रै परीक्षण गर्ने बताएको थियो । तर, आफ्नै टेस्ट किट उत्पादन भएपछि भने भारतले श्वासप्रश्वासमा समस्या भएका र अस्पताल भर्ना भएका सबैको कोरोना परीक्षण गर्ने बताएको छ ।

केही दिनयता भने भारले परीक्षणमा तिव्रता दिएको छ । केही सरकारी प्रयोगशालाहरुमा मात्रै परीक्षण अनुमति दिइएको थियो भने अब केही निजी प्रयोगशालाहरुमा पनि परीक्षण अनुमति दिइएको छ ।

भारतमा हालसम्म ९००भन्दा बढी  कोरोना संक्रमित देखिएका छन । दैनिक संक्रमितको संख्या भने तीव्र रुपमा वृद्धि भइरहेको छ । आगामी दिनमा परीक्षण बढाउँदै लगेमा संक्रमितको संख्या पनि निकै बढ्‍ने बताइएको छ । इकोनोमिक टाइम्स 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation