लुम्बिनी– मधेश मानव अधिकार गृह (माहुरी होम) का अधिकारकर्मीहरुले म्यानमारमा सैनुक कु पछि सुरु भएकोे हत्या र दमन तत्काल बन्द गर्न माग लुम्बिनीमा म्यानमारको गोल्डेन मन्दिरमा प्राथना गरेका छन् । उनिहरुले म्यानमार सैनुक कु पश्चात ज्यान गुमाउनेहरुको चिर शान्तिको कामना, सैनिक शासकमा सतबुद्धि आओस भन्दै प्राथना गरेका हुन् ।संस्थाले बुधबार एक अपिल जारी म्यानमार भईरहेको मानवता बिरोधी अपराधलाई तत्काल रोक्न र लोकतन्त्रको वहालीको विश्व शक्ति र संयुक्त राष्ट्र संघले उल्लेखनिय कदम चाल्न माग गर्दै अपिल पत्र समेत जारि गरेको थियो । प्राथना कार्यक्रममा संस्थाका अध्यक्ष रविन्द्रनाथ ठाकुरले मन्दिरका प्रमुख भिक्षु भेन कोभिडाले लाई उक्त अपिल पत्र समेत बुझाएका थिए ।
अपिल पत्र बुझाउदै अध्यक्ष ठाकुरले म्यानमारमा हालको सैनिक शासकले बालबालिका देखी बृद्ध सम्मलाई निर्मम हत्या गरी मानवता विरुद्धको मानवता बिरोधी अपराध गरेको बताए । उनले भने यस्तो मानवता बिरुद्धको अपराध गर्ने म्यानमारको सैनिक शासक र उक्त घटनालाई टुलु टुलु हेरेर बसेको विश्व समुदाय र संयुक्त राष्ट्र संघलाई विश्व शान्तिका अग्रदुत महामानव भगवान गौतम बुद्धको पावनभूमीबाट ध्यानाकर्षण गराउनको लागि प्राथना र अपिल जारी गरिएको बताए ।
ठाकुरले म्यानमारमा मानवता विरोधको अपराध तत्काल रोक्न, लोकतन्त्रको वहालीको लागि र म्यानमारमा रहेका जनताको मानव अधिकार सुनिश्चिताको लागि विश्व शक्ति र संयुक्त राष्ट्र संघले उल्लेखनिय कदम चाल्नु पर्ने बताए ।
अपिल पत्र बुझ्दै मन्दिरका प्रमुख भिक्षु कोभिडाले म्यानमारमा रहेका जनताहरुले धेरै दुःखः र कष्ट पाईरहेको बताए । उनले भने यहाँहरु सबैको कामनाले म्यानमारमा छिट्टै राम्रो दिन आउने छ । त्यसको लागि सबैले विश्वास गर्नु पर्ने बताउदै अपिल पत्रको बारेमा म्यानमार सरकारलाई जानकारी दिने बताए ।
अपिलको पुर्ण पाठ
विषयः म्यानमारमा लोकतन्त्र वहाली र मानविय दमन रोक्न अपिल
मधेश मानव अधिकार गृह (माहुरी होम) परिवार म्यानमारमा सैनिक कु पश्चात लोकतन्त्रको रक्षार्थ ज्यान गुमाउने मृत आत्मको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै पावन भूमी, शान्ति भूमी, विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थलबाट म्यानमारमा जनताद्वारा निर्बाचित सरकारलाई अपदस्त गरी लोकतन्त्रको हत्या गर्ने, सैनिक कु मार्फत शत्ता हत्याउने शासकलाई सतबुद्धि आओस भनी प्राथना गर्दछ ।
माहुरी होम म्यानमारमा भइरहेको मानव हत्या र दमनको बिरोध गर्दै आइरहेको छ । माहुरी होम परिवार महामानव विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म स्थलबाट म्यानमारको सरकारलाई तत्काल निर्मम हत्या, दमन रोक्न तथा लोकतन्त्रको वहालीको लागि माग गर्दछ ।
हामी म्यानमारमा १ फ्रेबुअरीमा सैनिक कु मार्फत लोकतन्त्रको हत्या सँगै सुरु गरेको मानविय अपराध रोक्न संयुक्त राष्ट्र संघलाई तत्काल प्रभावकारी कदम चाल्न समेत आग्रह गर्दछौ ।
साथै म्यानमारमा लोकतन्त्रको वहाली, राजनैतिक बन्दीहरुको बिना सर्त रिहाई र मानव दमन रोक्नको लागि समस्त विश्व समुदाय एक भई अगाडी बढ्न अपिल गर्दछौ । साथै संयुक्त राष्ट्रसंघको तर्फबाट उल्लेखनिय पहलको लागि हार्दिक अनुरोध गर्दछौ ।
अध्यक्ष
रविन्द्रनाथ ठाकुर
मधेश मानव अधिकार गृह
केन्द्रिय कार्यालय कपिलवस्तु, लुम्बिनी प्रदेश