कोरोना संक्रमित युवतीसँगै आएकाको स्वाब परीक्षण भएन

ताैलिहवा

कोरोना संक्रमित युवतीसँगै फ्रान्सबाट कतारको दोहा हुँदै आएका कपिलवस्तुका दुई युवाको अझैसम्म पनि स्वाब परीक्षण हुन सकेको छैन ।

मायादेवी गाउँपालिका–१, वर्रोहियाका नुरमोहम्मद धोवीलाई बुधबारदेखि क्वारेन्टाइनमा राखिएको छ। गाउँपालिकाले छत्रपाली तीर्थादेवी माविमा बनाएको क्वारेन्टाइनमा बसेको चार दिन भइसके पनि उनको सामान्य तापक्रम लिने मात्र काम भइरहेको छ।

त्यस्तै, मायादेवी–५, अटकोनियाका धर्मराज अहिर शुक्रबारबाट क्यारेन्टाइनमा छन्। प्रहरीले दुबैलाई घरबाट ल्याएर क्वारेन्टाइनमा राखेको हो। उनीहरुको थुक र खकारको (स्वाब) परीक्षण हुन सकेको छैन। ‘स्वाब परीक्षण गरेको भए ढुक्क हुने अवस्था आउने थियो,’ एक सुरक्षा अधिकारीले भने, ‘नहँुदा सबैमा संत्रास बढेको छ।’

कोरोना संक्रमण भए–नभएको जाँचका लागि उनीहरुको स्वाबको नमुना पठाउने बारेमा सम्बन्धित अधिकारीबीचमै अन्योल छ। प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई सम्पर्क गर्दा उनले जिल्ला अपतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बन्जाडेसित सोध्न भने। डा. बन्जाडेलाइ सम्पर्क गर्दा मायादेवी गाउँपालिकाका प्रतिनिधिलाई सम्पर्क गर्न भने। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादवलाई सम्पर्क गर्दा उनले डा. बन्जाडेलाई नै सबै जानकारी गराएको बताए।

अन्तत: उनीहरुमा कुनै लक्षण नदेखिएकाले स्वाब परीक्षण नगरिएको बन्जाडेले स्वीकार गरे। उनीहरु नेपाल आएको सोमबार १४ दिन पुग्ने भएकाले छाड्ने तयारी गरेको उनको भनाइ छ। उनीहरु गत चैत ४ गते कतार एयरवेजको क्यूआर ६५२ विमान चढेर दोहाबाट काठमाडौं आएका थिए।

जिल्लामा विभिन्न पालिकाद्वारा सञ्चालित क्यारेन्टाइनमा ५५ जनालाई राखिएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation