सैनामैनामा फागुन ४ गते बाट महोत्सव हुने

बुद्धकालीन महत्वको सैनामैनालाई चिनाउने र कृषि, पर्यटनका क्षेत्रमा रहेका सम्भावनालाई साकार पार्ने उद्देश्यले सैनामैना व्यापार संघले सैनामैना महोत्सव सञ्चालन गर्ने भएको छ ।
आगामी फागुन ४ गते देखि सैनामैनाको मुर्गियामा पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक ब्यापार महोत्सव–२०७९ सञ्चालन गरिने छ । व्यापार संघले शनिबार मुर्गियामा कार्यशाला गोष्ठीको आयोजना गर्दै महोत्वको कार्ययोजना पेश गरेको छ ।

शिक्षा, कृषि, पर्यटन, उद्योग र व्यापारका क्षेत्रमा तयार पारिएका आधारशीलाको कार्यान्वयन गर्दै समृद्ध सैनामैना निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउने उद्देश्यले संघ केन्द्रित रहेको संघका काबा अध्यक्ष तथा महोत्सव आयोजक मूल समितिका संयोजक सुरेन्द्र पौडेलले जानकारी गराए ।

सार्वजनिक निजी साझेदारीमा “समृद्ध सैनामैना, खुसी र सुखी सैनामैना बासी”को लक्ष्य साकार पार्न सकिने सोंचका साथ सोही अनुरुपका कार्यक्रम तयार पारिएको पौडेलको भनाइ छ । सैनामैना महोत्सवको विस्तृत कार्ययोजना प्रस्तुत गर्दै संयोजक पौडेलले सबै क्षेत्रको सहयोग र सहकार्यको अपेक्षा रहेको बताए ।

सैनामैनाको भौगोलिक,सामाजिक, आर्थिक, तथा सांस्कृतिक विविधतालाई सम्मान गर्दै सन्तुलित र समन्यायीक विकासमामहत्वपूर्ण सफलता हासिल गरेसंगै सैनामैनाको मुहार विस्तारै फेरिदै गएको र त्यसलाई विस्तार गर्न महोत्सव एउटा माध्यम हुने सैनामैना व्यापार संघको दाबी छ ।
‘सैनामैनामा हुदैँ गरेको विकासको लहरलाई अगाडि बढाँउदै सुसंस्कृत र समृद्ध सैनामैनाको लक्ष्य साकार पार्नका लागि सार्वजनिक–निजी साझेदारीका कार्यक्रम जरुरी छ’ संघका पूर्व अध्यक्ष जीवनाथ पाण्डेले सैनामैनामा रहेका कृषि, पर्यटन, उद्योग, व्यापार र विविधिकरणका सम्भावनालाई साकार पार्न निजी क्षेत्रका बीचमा आपसी एकताको खाँचो रहेको बताए ।

सैनामैनाका मेयर फणेन्द्रप्रसाद शर्माले महोत्सवको सफलताको कामना गर्दै समन्वय, सहकार्य र सहजीकरण गर्न तयार रहेको बताए । उनले मेलाको सफलताको कामना गर्दै मेला महोत्सवमा स्थानीय उत्पादन, कला, संस्कृति र सभ्यतालाई महत्व दिन सुझाव दिए ।

सैनामैना नगरपालिकाका उपप्रमुख बीना रानाले महिला उद्यमशीलताको विकास र प्रवद्र्धन हुनेगरी कार्यक्रम बनाउन आग्रह गरिन् । उनले महिला मार्फत सञ्चालित विभिन्न प्रतिष्ठानहरु यसक्षेत्रमै अब्बल रहेको र समाज सुधारमा पनि विशेष नेतृत्वदायी भूमिका रहेको बताउँदै महत्वपूर्ण स्थान दिनुपर्ने बताइन ।

सैनामैनाका संस्थापक मेयर चित्रबहादुर कार्कीले कृषि तथा पशु क्षेत्रमा भएको प्रगती र सफलतालाई समृद्धिको माध्यम बनाउन सकिने बताए । उनले मेला, महोत्सवका माध्यमबाट कृषि उत्पादकत्व बढाउन, विविधकरण गर्न र त्यसैका माध्यमबाट आयआर्जनका कार्यक्रमलाई प्रभावकारी बनाउन सकिनेमा जोड दिए ।

चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले मेला महोत्सब तथा प्रदशर्नीहरु अब परम्परागत तरिकाले चल्न नसक्ने भन्दै नयाँ तरिका र सोंचको विकास गर्न जरुरी रहेको बताए । मेला घाटा नाफासंग मात्र नजोडेर सकेसम्म स्थानीय तथा रैथाने सस्कृति र परिकारको उजागर हुने गरि महोत्सव आयोजना हुनुपर्ने पोखरेलको भनाइ थियो ।
सैनामैना उधोग बाणिज्य संघका अध्यक्ष प्रेमबहादुर खड्काले महोत्सवको सफलताका लागि आफुहरु सहकार्य गर्न तयार रहेको बताउँदै नगरपालिकाले भने अभिभावकीय भूमिका निर्बाह गर्न जरुरी रहेकोमा जोड दिए । संघका महासचिव हरि न्यौपानेले सहजीकरण गरेको कार्यशालामा उपाध्यक्ष देवीदत्त सुवेदीले स्वागत गरेका थिए ।

सैनामैना व्यापार संघको आयोजनामा हुने पाँचौं सैनामैना महोत्वसका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । सुरेन्द्र पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति र अरु विषयगत उपसमितिहरु गठन भएका छन् । पूर्व–पश्चिम राजमार्गको कालिका चोकनिर ग्लोबल पार्टी प्यालेसको परिसरमा रहेको खुला स्थानमा मेला लगाउने तयारी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation