एजेन्सी – न्युजिल्यान्डले इंग्ल्यान्डलाई हराउँदै पहिलो पटक आइसिसी टि२० विश्वकपको फाइनलमा पुगेको छ । बुधबार राती सम्पन्न आइसिसी टि२० विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । न्युजिल्यान्डले उपाधिको लागि अष्ट्रेलिया र पाकिस्तान मध्य एकसँग आइतबार प्रतिस्पर्धा गर्नेछ ।
जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डका ओपनर डर्याल मिचेल ४७ बलमा ४ चौका र ४ छक्का सहित ७२ रनमा अविजित रहँदै फाइनलमा पुर्याए । न्युजिल्यान्डलाई अन्तिम ४ ओभरमा ५७ रन आवश्यक परेको थियो । तर १७ औं ओभरमा क्रिस जोर्डनलाई जिमी निशमले २३ रन प्रहार गरेपछि खेलले नयाँ मोड लिएको थियो ।
१८ औं ओभरको दोस्रो बलमा जिमी निशम र चौथो बलमा डर्याल मिचेलले छक्का प्रहार गरेपछि न्युजिल्यान्डले खेलमा आशा फर्काएको थियो । यसै ओभरको अन्तिम बलमा निशम कभरमा ओईन मोर्गनबाट २६ रनमा कभरमा समातिन पुगेपछि खेल थप रोचक बनेको थियो । निशमले १० बलमा ३ चौका र १ छक्का प्रहार गरे । १९ औैं ओभरको दोस्रो र तेस्रो बलमा डर्याल मिचेलले क्रिस वोक्सलाई छक्का प्रहार गरेपछि न्युजिल्यान्ड फाइनल पक्का गरेको थियो ।
तीव्र गतिका बलर क्रिस वोक्सको पहिलो ओभरको तेस्रो बलमै ओपनर मार्टिन गुप्टिल लिडिङ एज लागेर मिडअनमा मोईन अलीबाट ४ रनमा क्याच आउट भएपछि न्युजिल्यान्ड सुरुवातमै दबाबमा परेको थियो । वोक्सकै तेस्रो ओभरको चौथो बलमा कप्तान तथा प्रमुख ब्याटर केन विलियम्सन टप एज लागेर आदिल राशिदबाट ५ रनमा क्याच आउट भएपछि न्युजिल्यान्ड सुरुवातमै समस्यामा परेको थियो ।
तेस्रो विकेटका लागि डेभन कन्वे र डर्याल मिचेलले ६७ बलमा ८२ रनको साझेदारी गर्दै न्युजिल्यान्डलाई सम्हाल्लेका थिए । स्पिनर लियाम लिभिङस्टोनको १४ औं ओभरको चौथो बलमा कन्वे ४६ रनमा विकेटकिपर जस बटलरबाट स्टम्पिङ आउट भएका थिए । कन्वेले ३८ बलमा ५ चौका र १ छक्का प्रहार गरे । इंग्ल्यान्डका लियाम लिभिङस्टोनले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । क्रिस वोक्सले २ विकेट लिए ।
त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । इंग्ल्यान्डका मोईन अली ३७ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ५१ रनमा अविजित रहे । इंग्ल्यान्डलाई ओपनर जोनी बेयरस्टो र जस बटलरले ५।१ ओभरमा ३७ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर एडम मिल्नेले छैटौं ओभरको पहिलो बलमा बेयरस्टोलाई मिडअफमा केन विलियम्सनबाट १३ रनमा उत्कृष्ट क्याच आउट गराएका थिए ।
स्पिनर ईश सोधीले नवौं ओभरको पहिलो बलमा जस बटलरलाई २८ रनमा एलबीडब्लू आउट गरे । बटलरले २४ बलमा ४ चौका प्रहार गरे । तेस्रो विकेटका लागि डेविड मलान र मोईन अलीले ४३ बलमा ६३ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर टिम साउथीको १६ औं ओभरको दोस्रो बलमा विकेटकिपर डेभन कन्वेबाट मलानलाई ४१ रनमा क्याच आउट भएका थिए ।
मलानले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे । इंग्ल्यान्डका लियाम लिभिङस्टोनले १० बलमा १ चौका र १ छक्का सहित १७ रनमा क्याच आउट भए । ओईन मोर्गन ४ रनमा अविजित रहे । न्युजिल्यान्डका ईश सोधी, एडम मिल्ने, टिम साउथी र जेम्श निसमले १–१ विकेट लिए ।
न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि न्युजिल्यान्ड २००७ र २०१६ को संस्करणमा सेमिफाइनलबाट बाहिरिएको थियो । २०१६ को सेमिफाइनलमा न्युजिल्यान्ड इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । समूह चरणमा न्युजिल्यान्डले भारतलाई ८ विकेट, स्कटल्यान्डलाई १६ रन, नामिबियालाई ५२ र अफगानिस्तानलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले न्युजिल्यान्डसँग फाइनल खेल्नेछ ।