गुल्मी आगलागी घटनाः छोरा बितेको नौ दिनपछि घाइते बुवाको हृदयघातले मृत्यु

प्रकाशित मिति : १७ बैशाख २०७७

गुल्मी ।
गत वैशाख ८ गते गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ४ शान्तिपुर बजारमा रहेको एक पसलमा भएको आगलागीमा घाइते भएका एक जनाको बुधबार निधन भएको छ।

बाग्लुङको बरेङ गाउँपालिका वडा नंं ३ का वडा अध्यक्ष पूर्ण बहादुर खनालको गुल्मीको शान्तिपुर बसपार्कस्थित घरमा आगलागी हुँदा घाइते खनालको बुधबार काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

खाद्यान्न र ग्याँससँगै खुला रूपमा डिजल र पेट्रोलको समेत विक्री वितरण गर्दै आएका खनालको घरमा एक्कासि भएको आगलागीमा परी उनका कान्छो छोरा १६ वर्षीय समिरको सोही दिन घटनास्थलमै मृत्यु भएको थियो।

आगलागीमा पनि खनाल र उनकी श्रीमती रूपा खनाल घाइते भएका थिए।

घाइते दुवै जनाको सोही दिनदेखि नै काठमाडौंमा उपचार भइरहेकोमा पूर्ण बहादुरको बुधबार निधन भएको हो।

आगलागीमा परी जलेको घाउ निको हुँदै गए पनि सोही आगलागीबाट घटनास्थलमै छोराको ज्यान गएपछि विक्षिप्त बन्दै गएका खनालको हृदयघातका कारण ज्यान गएको पारिवारिक स्रोतले बताएको छ।

खनालले लामो समयदेखि शान्तिपुर बसपार्कमा खनाल स्टोर्स सञ्चालन गर्दै आएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation