शरीरमा गोली र छर्रा बोकेर नबस्नुहोस्, उपचारको प्रबन्ध सरकारले गर्छ- ओलि

विश्वभरिका कोरोना प्रभावित २१० मुलुकमा जस्तै हाम्रो देश नेपालको पनि उत्पादन प्रणालीको कडी टुटेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रा सिर्जनशील हातहरु यतिखेर लकडाउनमा छन् । हाम्रो श्रमको प्रतिक्षामा रहेका उत्पादनका साधनहरु पनि लकडाउनमा छन् ।’

उनले  अहिलेको लकडाउन विश्वव्यापी र बाध्यकारी भएको बताएका छन् । कोरोना भाइरसका कारणले यसलाई स्वीकार्नु पर्ने बाध्यता रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई उनीहरुले हासिल गरेको दक्षता अनुरुपको स्वरोजगारी सिर्जना गर्न सरल कर्जा र प्रविधि हस्तान्तरणको प्रबन्ध गर्ने र स्वदेशमा रहेका वा विदेशमा रोजगारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा जोड्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाएका छन् । ‘विभिन्न मन्त्रालय, निकाय र सार्वजनिक संस्थाहरु मार्फत सिर्जना भएका कामका अवसरहरु नेपालीलाई नै सुनिश्चित गर्ने व्यवस्था मिलाइने छ,’ ओलीले भनेका छन् ।

श्रमिकहरुको अभावलाई सम्बोधन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र श्रम तथा सीप तालीमसम्बन्धी सबै निकायका कार्यक्रमहरुलाई एकीकृत रुपमा परिचालन गर्ने बताउँदै प्रधानमन्त्री ओलीले आवश्यक परेमा सबै पालिका तहमा छोटो अवधिका घुम्ती तालीम शिविरसमेत सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।

कृषिको आधुनिकीकरण र व्यवासायीकरण मार्फत उत्पादन र रोजगारी बृद्धि गर्ने भन्दै उनले जमिन नहुने श्रमिकहरुका लागि भूमि बैंकलाई कार्यान्वयनमा ल्याई त्यसैको माध्यमद्वारा भूमिको व्यवस्था गर्ने आश्वासन दिएका छन् ।

विगतका जनआन्दोलन र द्वन्द्वकालका युवा तथा अरू घाइतेहरुको उपचारको प्रवन्ध सरकारले गर्ने बताएका छन् । उनले भनेका छन्,  ‘अझै पनि उपचारबिहीन अवस्थामा रहिरहेका छन् । तिनको उपचारका लागि सरकारले पटकपटक गरेका आह्वान र प्रयासहरुको सन्देश उचित रुपमा संप्रेषण हुन सकेन । म आह्वान गर्दछु, सम्पूर्ण घाइतेहरु प्रशासनको संपर्कमा आउनुहोस् । अब आफ्नो शरीरमा गोली र छर्रा बोकेर नबस्नुहोस्, उपचारको प्रबन्ध सरकारले गर्छ ।’

यसले निर्माण, रोजगारी र उत्पादनमा पारेको प्रतिकूल प्रभावको अवस्थाले श्रमजीवी वर्गको बुझाइजस्तै श्रम र उत्पादनको सम्बन्ध एवं त्यसको महत्वलाई सबै वर्गले गम्भीरताका साथ बुझ्ने नयाँ परिस्थिति पनि निर्माण भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘श्रम बिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ भन्ने आजको यथार्थले स्पष्ट पारेको छ ।’

उनले यस अप्ठ्यारो समयमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा ऐक्यबद्धता जाहेर गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation