सशस्त्र प्रहरीको कुटाईप्रति अधिकारकर्मीहरुको ध्यानाकर्षण

लकडाउनको नाममा कुटपिट रोक्न माग

भैरहवा, १९ वैशाख।
लकडाउनको कार्यान्वयन गराउने क्रममा बिहीबार नवलपरासी जिल्लामा सशस्त्र प्रहरीको कुटाईबाट तीन जना गम्भिर घाइते भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको थर्ड एलायन्स, एड्भोकेसी फोरम, प्रदेश नम्बर ५ र माहुरी होम कपिलवस्तुले जनाएका छन् ।
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ५ का वर्ष ७० वर्षिय पूर्णवासी गौंड, सोही स्थान बस्ने १४ वर्षिय अखिलेश गौंड र १७ वर्षिय मुन्ना गौंडलाई भगतपुरवा गाउँ नजिकको दशगजा क्षेत्रमा सशस्त्र प्रहरी टोलीले लकडाउनको उल्लंघन गरेको आरोपमा कुटपिट गरेको घटनाप्रति तीनै संस्थाले गभ्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।

सशस्त्र प्रहरीको कुटाइर्बाट पूर्णवासी गौंडको पाखुरा भाँचिएको, टाउको फुटेको, अखिलेश गौंडको हात भाँचिएको र मुन्ना गौंडको कम्मर र टाउकोमा चोट लागेकोले घटनाको अनुसन्धान हुनुपर्ने उनीहरुको माग छ ।

थर्ड एलायन्स प्रदेश नम्बर ५ का संयोजक अग्नीशक्ति यादव, एडभोकेसी फोरम प्रदेश ५ का अध्यक्ष शिव प्रसाद गौडेल र माहुरी होम कपिलवस्तुका अध्यक्ष रविन्द्रनाथ ठाकुरद्वारा शुक्रबार संयुक्त रुपमा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, “नेपालको संविधानको धारा–२२ मा पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यातना दिइने वा निजसँग निर्मम, अमानवीय वा अपमानजनक व्यवहार नगरिने कुराको सुनिश्चितता गरेको छ, साथै मानव अधिकारको विश्वव्यापी घोषणा पत्र, १९४८ को धारा ५ मा कुनै व्यक्तिलाई शारीरिक यातना दिइने छैन र क्रुर अमानवीय वा अपमानजनक व्यवहार तथा सजाय गरिने छैन भन्ने व्यवस्थाको बर्खिलाफ संविधान र कानुनको पालना गर्ने दायित्व भएका प्रहरी कर्मचारीहरुद्वारा लकडाउनको नाममा मानिसहरुलाई कुटपिट तथा यातना दिने कार्यले कानुनी शासनको उपहास भएको छ ।

त्यस्तै विज्ञप्तीमा लकडाउनको क्रममा अतिआवश्यक कामका लागि समेत घर बाहिर निस्कने मानिसहरुलाई प्रहरीद्वारा कुटपिट यातना दुव्र्यवहार, अमानवीय तथा अपमानजनक व्यवहार गर्ने कार्य बढ्न थालेपछि उक्त अमानवीय तथा अपमानजनक व्यवहार तत्काल रोक्नका लागि सर्वोच्च अदालतमा रिट न. (०७६ डब्लुएच ०९४१) को मिति २०७७/०१/११ गते न्यायाधीश दिपक कुमार कार्की र न्यायाधिश ईश्वर प्रसाद खतिवडाको संयुक्त इजलासले कुनै पनि भूमिकामा रहेको राज्यका कुनै पदाधिकारीले कुनै पनि व्यक्तिउपर कानून प्रतिकुल अमानवीय व्यवहार गर्नुहुँुदैन, यस कुरामा राज्यका सबै सम्बद्ध निकाय विशेष रुपमा संवेदनशील रहनु आवश्यक हुन्छ उल्लेख छ ।

“नेपाल सरकार गृह मन्त्रालयलाई ध्यानाकर्षण गराएको अवस्थामा समेत कुटपिट यातना दुव्र्यवहार, अमानवीय तथा अपमानजनक व्यवहार नरोकिनु अत्यन्तै गैरजिम्मेवारीपन तथा लोकतान्त्रिक शासन व्यवस्थाको उपहास हो, विज्ञप्तीमा भनिएको छ ।

सशस्त्र प्रहरीद्वारा सर्वसाधारणलाई कुटपिट गरिएको घटना नेपालको संविधानको धारा २२, मुलुकी अपराध (संहिता) २०७४ को दफा १६७ को विपरित कसुर गरेको हुनाले घटनाको अनुसन्धान गरी पीडकहरुलाई कानुनी कारवाही र पीडितहरुलाई आवश्यक क्षतिपूर्ति दिलाउन तीनै संस्थाले माग गरेका छन् ।

कोरोना महामारीको यस संकट घडीमा संवेदनशील भइ कुटपिट, यातना दुव्र्यवहार, अमानवीय तथा अपमानजनक व्यवहार तत्काल रोक्नको लागि सम्बन्धित निकायलाई उनीहरुले आग्रह समेत गरेका छन् ।

यता सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले मोटरसाइकलमा रक्सी बोकेर भारत लैजान खोज्दा प्रहरीले रोकेपछि गाउँ नै आएर आफ्नो जवान र पोष्टमाथि आक्रमण गर्न खोज्दा रक्षाका लागि लाठीचार्ज भएको बताए । राति ९ बजेको समयमा भारतीय मोटरसाइकलमा रक्सी लोड गरी भारत लैजाने क्रममा सीमा खटिएको सुरक्षाकर्मीले देखेर लखेटदा मोटरसाइकल त्यहीँ छोडी रक्सी लिएर उनीहरु भागेको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation