सुरज जोर्डनको जेलमा, छुटाउन अभियान सुरु

बुटवल, माघ २४ गते । विगत ६ महिनादेखि जोर्डनको जेलमा परेका रुपन्देहीको सैनामैना नगरपालिका ६ का सुरज भण्डारीलाई मुक्त गराउन अभियान सुरु भएको छ ।

सुरजको गृह नगर सैनामैनाका युवाहरुको संस्था कलौनी ब्रदर्श फर सोसाईटीले सुरज बचाउ अभियान सुरु गरेको हो ।
सुरजलाई जेलबाट छुटाउन ठूलो धनराशी आवश्यक पर्ने भएकोले सांगीतिक कार्यक्रममार्फत सहयोग संकलन अभियान सुरु भएको छ ।
शनिवार सुरु भएको सहयोग अभियानमा सहयोग गरेर सुरजलाई जेलबाट छुटाउन अभियानमा संलग्न युवाहरुले आग्रह गरेका छन ।
सैनामैना वडा नं. ६ का समाजसेवी युवा प्रेम थापाले सुरज बचाउ अभियानमा आर्थिक रुपमा सहयोग गरिदिन सवैसंग आग्रह गर्दै सुरजको घर परिवारको अवस्था अत्यन्त नाजुक रहेकोले उनलाई छुटाउन अभियान सुरु भएको बताउनु भयो ।

उहाँले कलौनी ब्रदर्शले सुरु गरेको अभियानमा सहयोग गरिदिन देश तथा विदेशमा रहेका सवै नेपालीहरुसंग आग्रह गर्नुभयो ।
कलौनी ब्रदर्शका सदस्य प्रसन्न पन्तले सुरज भण्डारी बचाउ अभियान सैनामैनाको कलौनी बजारबाट सुरु गरिएको बताउँदै सुरजलाई जस्तो समस्या भोलीको दिनमा जसलाई पनि पर्न सक्ने भएकोले सुरजलाई जेलबाट छुटाएर नेपाल ल्याउन सुरु गरिएको सहयोग संकलन अभियानमा सहयोग गरिदिन सवै नेपालीहरुसंग आग्रह गर्नुभयो ।
सुरज विगत ६ महिनादेखि जोर्डनको जेलमा छन । उनी युएईमा ट्रक चालकको रुपमा काम गर्दै आएकोमा सिरिया पुगेर फर्किनेक्रममा जोर्डनमा उनलाई पक्राउ गरि जेलमा राखिएको उनका परिवारजनले बताएका छन ।

उनी निर्दोष रहेको र उनलाई छुटाउन अहिले परिवारसंगै सैनामैनाबाट अभियान थालिएको कलौनी ब्रदर्शका सहयोग अभियानका संयोजक सुमित श्रेष्ठले जानकारी दिनुभयो ।
सुरजकी श्रीमति सरस्वतीले युएईमा ट्रक चलाउने काम गर्दै आएका आफ्ना श्रीमानलाई ट्रक मालिकले नै फसाएको आशंका गर्नुभयो ।
उहाँका अनुसार युएईबाट सामान लिएर सिरिया पुगी फर्किएर आउँदा जोर्डनमा ट्रकमा अवैध सामान रहेको भन्दै त्यहाँको प्रहरीले सुरजलाई जेलमा राखेको हो ।

सुरजलाई छुटाउन तत्कालै ३५ लाख रुपियाँ आवश्यक पर्ने र अन्तिमसम्म गरि करिव ६० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको बताइएको छ ।
सुरजको सम्पत्तिको नाममा एउटा घरमात्र रहेकोले उनको रिहाईका लागि अभियान सुरु गरिएको हो ।
सुरजका घर परिवार सुरजलाई छुटाउन सहयोग गरिदिन आग्रह गर्दै ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation