संक्रमण तेस्रो चरणमा तर ट्रेसिङ पहिलो चरणमै

कतिपयले सम्पर्कमा आएका व्यक्तिको नाम, स्थान बिर्सिसकेको जवाफ दिएकाले स्थिति झनै जटिल बनेको छ

वैशाख २५, २०७७

पालगन्ज, बुटवल — समुदायमा फैलिएर कोभिड–१९ को संक्रमण तेस्रो चरणमा पुगेको नेपालगन्जमा स्वास्थ्य मन्त्रालयदेखि विश्व स्वास्थ्य संगठनका अधिकारीसम्म परिचालित भए पनि कन्ट्याक्ट ट्रेसिङ बुधबारसम्म पहिलो चरणमै सीमित छ ।

स्वास्थ्यकर्मी तालिमप्राप्त नरहेको र एउटा व्यक्तिसित कम्तीमा आधा घण्टा कुराकानी गरेर फारम भर्नुपर्ने भएकाले संक्रमितले सम्पर्क गरेका व्यक्ति खुट्याउन ढिलाइ भइरहेको हो । नेपालगन्ज उपमहानगरपालिका–८, जोलहनपुर्वाका २२ जनाको कन्ट्याक्ट ट्रेसिङ संक्रमितले पहिलो चरणमा भेटेका व्यक्तिमा सीमित छ । दोस्रो र तेस्रो चरणमा भेटेका व्यक्तिको ट्रेसिङ हुन नसक्दा संक्रमण झनै फैलिने चिन्ता बढेको छ ।

गत शुक्रबार एक जनामा संक्रमण पुष्टि भएपछि उनले सम्पर्क गरेका ९० जनाको कन्ट्याक्ट ट्ेरसिङ गरिएको थियो । ९० जनाको स्वाब संकलन गरेर परीक्षणमा आइतबार र मंगलबार गरेर २२ जनामा संक्रमण पुष्टि भएको थियो । लगत्तै उनीहरूको पहिलो सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ गरिएको थियो ।

‘धेरै संक्रमित भेटिन थालेपछि स्वास्थ्यकर्मी पहिलो चरणमा सम्पर्कमा आएकाको ट्रेसिङमै व्यस्त छन् । तर संक्रमण कति जनामा छ भन्ने जान्न दोस्रो र तेस्रो चरणमा सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ हुन अनिवार्य छ,’ इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट यहाँ आएका प्रदीप रिमालले भने । तत्काल दोस्रो र तेस्रो चरणको सम्पर्कमा आएका व्यक्ति पत्ता लगाउन थप र तालिमप्राप्त जनशक्ति आवश्यक रहेको उनले बताए ।

महाशाखाबाट डा. हेमन्त ओझाको नेतृत्वमा टोली परिचालित छ भने संक्रमण अध्ययन गर्न विश्व स्वास्थ्य संगठन टोली पनि नेपालगन्जमै छ । स्वास्थ्य मन्त्रालयका डा. यदुचन्द्र घिमिरेले यहीँ बसेर जिल्ला जनस्वास्थ्य कार्यालयलाई सघाइरहेका छन् ।

नेपालगन्जमा शुक्रबार एक, आइतबार १५ र मंगलबार सात गरी २३ जनामा संक्रमण पुष्टि भएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार कतिपयले सम्पर्कमा आएका व्यक्तिको नाम, स्थान बिर्सिसकेको जवाफ दिएकाले स्थिति झनै जटिल बनेको छ । ‘संक्रमण देखिएपछि पहिलो, दोस्रो र तेस्रो दिन कोसँग सम्पर्क भयो भन्ने जानकारी लिन्छौं । हाललाई पहिले भेटेका व्यक्तिको ट्रेसिङलाई प्राथमिकता दिएका छौं,’ उनले भने, ‘दोस्रो र तेस्रो घेरामा जानै सकिएको छैन ।’ मंगलबार ५६ जनाको ट्रेसिङ पूरा भएको थियो । ट्रेसिङ गरिएका दुई जना बुधबारसम्म सम्पर्कमा आएका छैनन् ।

संक्रमितसित पहिलोपटक भेट भएकामध्ये १ सय ८३ जनाको बुधबारसम्म ट्रेसिङ सकिएको छ । तीमध्ये मंगलबार साँझ र बुधबार गरेर १ सय ३६ जनाको स्वाब संकलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए । संकलन गरिएकामध्ये बुधबार ५४ जनाको परीक्षण गरिएको थियो । त्यसबाट ३४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी स्वाबको रिपोर्ट बिहीबार आउने भेरी अस्पतालले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख धीरजंग शाहले जनशक्ति र मेडिकल किट पर्याप्त नहुँदा तत्काल सबैको परीक्षण गर्न नसकिने जानकारी दिए । नेपालगन्ज–८ का वडाध्यक्ष सुरेन्द्र गुप्ता वैश्यले नगरपालिकाको स्वास्थ्य शाखासँग पनि जाँचका लागि आग्रह गरिरहेको बताए । // कान्तिपुर

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation