तिलोत्तमा नगरपालिकाले बिना धितो ४ लाख ऋण दिने

रुपन्देही २६ बैशाख,

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्रतिव्यक्ति बढीमा ४ लाख रुपैंयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्ने भएको छ । युवाहरुलाई उत्पादनसँग जोडी स्वरोजगार बनाउन विनाधितोमा सहुलियतपूर्ण कर्जा दिन लागिएको हो । स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले प्रतिव्यक्ति बढीमा ४ लाख रुपैंयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्ने भएको हो ।

पहिलो चरणमा २ करोड रुपैंयाँ कर्जा प्रवाह गर्नेगरी नगरपालिकाले युवाहरुसँग उद्यम प्रस्ताव आह्वान गरेको छ । इच्छुक युवाहरुले जेठ ५ गतेसम्म आफूले गर्न चाहेको उद्यम सम्बन्धी प्रस्ताव नगरपालिकामा पेश गर्नुपर्नेछ । कर्जा प्राप्त गर्ने युवा १८ देखि ५० वर्ष उमेर समूहको हुनुपर्ने र कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको हुनुपर्ने नगरपालिकाले जनाएको छ ।

कर्जाको व्याजदर पुरुषको हकमा वार्षिक ४ दशमलव ५० प्रतिशत, महिलाको हकमा वार्षिक ३ दशमलव ५० प्रतिशत रहेको छ । प्राप्त प्रस्ताव अनुसार नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा युवाहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरिने नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । कर्जा प्रवाहका लागि तरकारी, फलफूल, पुष्प, च्याउ, जडिबुटी खेती, पशुपंक्षीपालन, मत्स्यपालन, नगदेबाली, घरेलु तथा कुटिर उद्योग र अन्य स्वरोजगारका क्षेत्रलाई प्राथमिकता दिइने छ । 

हालका लागि महिला, दलित, पछाडी पारिएको वर्ग—समुदाय, वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई कर्जामा प्राथमिकता दिइने उपप्रमुख जागेश्वरी चौधरीले बताउनुभयो ।

##पाटीपाैवा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation